रोल्पा ,कार्तिक २४।
प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रोल्पा जिल्लाको थवाङ विचार र क्रान्तिको प्रतीक भएको बताउनुभएको छ ।
शुक्रबार रोल्पा जिल्लाको थवाङ गाउँपालिकास्तरीय पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताउनुभएको हो । ‘प्रचण्ड’ले नेपालको राजनीतिक आन्दोलन र परिवर्तनमा रोल्पा जिल्लाले गरेको योगदानलाई इतिहासले बिर्सिन नसक्ने बताउनुभयो ।
जनसभालाई सम्बोधन गर्नुअघि प्रधानमन्त्री प्रचण्डले लिवाङमा निर्मित ५० शय्याको अस्पताल भवनको उद्घाटन गर्नुभयो ।
सो जनसभामा नेकपा (माओवादी केन्द्र) उपमहासचिव वर्षमान पुन, सचिव हितमान शाक्य लगायतका नेताहरूले सरकारको भ्रष्टाचारविरोधी अभियानमा पार्टी पूर्ण साथ रहेको र यो अभियान अझै उचाइका साथ अगाडि बढ्ने बताएका थिए ।
प्रधानमन्त्रीले भन्नुभयो, “झण्डै ६ वर्षपछि हाम्रो आधारक्षेत्र थवाङ आउन पाउँदा मलाई हर्ष र गौरवको अनुभूति हुन्छ । म ४० वर्षअघि पहिलोपटक थवाङ आएको थिएँ । जनयुद्धको तयारी, उठान र सञ्चालन यही आधार बनाएर गरिएको थियो ।’’
“थवाङ विचार र क्रान्तिको प्रतीक हो । यसले विचार दियो, गुणात्मक परिवर्तन दियो । एउटा ऐतिहासिक क्रान्तिको नेतृत्व गरेको छ । यहाँ आएर फर्किंदा म जहिले पनि उर्जा लिएर फर्किन्छु ।’’ प्रधानमन्त्रीले भन्नुभयो, “थवाङलाई देशले मात्रै चिन्दैन, सिङ्गो विश्वले चिन्छ । यसबाट बेलाबेला संसारलाई नै महत्त्वपूर्ण सन्देश दिन्छ ।’’
प्रचण्डले भन्नुभयो, “क्रान्ति र आन्दोलनको बाटो सरल रेखामा हुँदैन । त्यो बाङ्गोटिङ्गो हुन्छ । यो कहिले अघि बढ्छ, कहिले एक कदम पछाडि हट्छ । यो विज्ञानको नियम हो । जनवादी क्रान्तिको चरणमा थवाङले ऐतिहासिक भूमिका खेल्यो । अब हामी नयाँ चरणको क्रान्तिको तयारीमा छौं । संंविधानमा नै समाजवादको सङ्कल्प गरिएको छ, त्यसका लागि नयाँ अभियान चाहिन्छ ।’’

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)