बुटवल,कार्तिक १९ ।
बुटवलमा हुने नेपाल जेसीजको ५० औं राष्ट्रिय महाधिवेशनको तयारी तीब्र पारिएको छ । बुटवल जेसीजको आतिथ्यतामा आगामी मंसिर २९ देखि पुस २ गतेसम्म नेपाल जेसीजको ५० औं राष्ट्रिय महाधिवेशन बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुँदैछ ।
बुटवल जेसीज स्वर्ण वर्षमा रहेको र नेपाल जेसीजको पनि ५० औं राष्ट्रिय महाधिवेशन भएकाले सन्दर्भ मिलाएर बुटवलमा गर्न लागिएको बुटवल जेसीजका अध्यक्ष हरिबिक्रम कुवँरले जानकारी दिनुभयो । साेही अनुसार बुटवल जेसीजले महाधिवेशन तयारीका गतिबिधिलाइ तीब्रता दिएको उहाँको भनाइ छ । यसलाइ सफल बनाउन सबैले आ-आफ्नाे स्थानबाट भूमिका निर्बाह गर्नुपर्ने बेला आएको कुवँरको भनाइ छ ।
‘सक्षम युवा सुदृढ देश : सुशासनका लागि समुन्नत परिवेश’ भन्ने नारा सहित गर्न लागिएको नेपाल जेसीजको राष्ट्रिय महाधिवेशनको लागि कन्भेन्सन डाईरेक्टरको रुपमा पूर्वअध्यक्ष जगतबहादुर पोखरेललाई चयन गरिएको छ । पोखरेल नेपाल जेसीजको पूर्व राष्ट्रिय अध्यक्ष समेत हुनुहुन्छ ।
राष्ट्रिय महाधिवेशन सम्पन्न गर्नका लागि शान्ति पदयात्रा, दृश्यावलोकन, सहभागि दर्ता, सांकृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम, प्रकरण, वक्तृत्व तथा प्रशिक्षण, खाना खाजा व्यवस्थापन, किट व्याग व्यवस्थापन, आवाश व्यवस्थापन, अतिथी सत्कार, उम्मेद्वार प्रशिक्षण तथा अन्तरवार्ता, उद्घाटन तथा समापन कार्यक्रम, सुरक्षा तथा सरसफाई, सूचना तथा प्रचारप्रसार, ककस तथा निर्वाचन, आर्थिक, स्मारिका प्रकाशन, स्वागतद्वार तथा हल व्यवस्थापन,मायाको चिनो व्यवस्थापन समिति लगायतका १७ वटा उपसमिति गठन गरिएको प्रचारप्रसार समितिका संयोजक राजिव गौतमले बताउनुभयो ।
बुटवल जेसीजले सबैको साथ, सहयोग, समर्थन र सहकार्य गर्न चाहेको कन्भेन्सन डाईरेक्टर जगतबहादुर पोखरेलको भनाइ छ । यो महाधिवेशन बुटवल जेसीजको मात्रै नभएर बुटवल र सिंगो रुपन्देही जिल्लाकै गौरव प्रतिष्ठासंग जोडिएको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो-‘यो महाधिवेशनमा नेपाल जेसीजका १७८ शाखाबाट करिब १ हजार ८ सय प्रतिनीधि बुटवलमा आउने छन् ,त्यसबाहेक पर्यवेक्षक तथा अतिथि समेत गरी ३ हजार बढीको सहभागिता रहनेछ ।’
आवास सहितको रजिष्ट्रेशन मंसिर १५ गतेसम्म मात्र कायम रहने सहभागी दर्ता व्यवस्थापन समितिका संयोजकबिनोद ज्ञवालीले बताउनुभयो । यो राष्ट्रिय महाधिवेशनलाई सफल बनाउनको लागि साथ सहयोग र सहकार्य खोजेको बुटवल जेसीजले राजनीतिक दलका नेतासंग भेटघाट तथा छलफल गरेको छ ।
त्यस्तैगरि रुपन्देहीका सामाजिक संघसंस्थाहरु, दलका जिल्ला तहका नेताहरु र प्रदेश तथा प्रतिनीधि सभा सदस्यहरुसंग पनि भेटघाट तथा छलफलको कार्यक्रम जारी राखेको राष्ट्रिय महाधिवेशन सचिव मनोज भट्टराईले बताउनुभयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)