बुटवल,असाेज २७ ।
नेपाल पर्यटन पत्रकार महासंघमा आबद्ध पत्रकारहरुले संस्थाको नाम परिवर्तन गर्दै कार्यसमिति पुनर्गठन समेत गरेका छन् । अब संस्थाको नाम लुम्बिनी पर्यटन पत्रकार संघ बनाइएको छ ।
शुक्रबार पाल्पाको बसन्तपुरमा भएको विषेश भेलाले उक्त निर्णय गरेको हो । भेलाले पुनः भुवन कार्कीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चएन गरेको छ । नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा बेनिमाधव बस्याल, महिला उपाध्यक्षमा विष्णु खनाल, महासचिवमा कपिल ज्ञवाली, सचिव भुवन रायमाझी, महिला सचिव यमकला भुसाल र कोषाध्यक्ष प्रेम सुनार चयन भएका छन् । त्यस्तै सदस्यहरुमा बबिता बिष्ट, रजनी योगी, लक्ष्मी तिमिल्सना, दिनेशकुमार श्रेष्ठ, भुवन जीसी, हरि घिमिरे, विष्णु डिसी तथा अभिशेक राव रहेका छन् ।
संघको पहिलो बैठकले सचिवालय समेत गठन गर्ने निर्णय भएको महासचिव कपिल ज्ञवालीले जानकारी दिए । संस्थाको नाम परिवर्तन भएपछि अब स्वतन्त्र रुपमा लुम्बिनी पर्यटन पत्रकार संघ दर्ता हुने उनले बताए । नाम परिवर्तनसंगै केन्द्रमा रहेको नेपाल पर्यटन पत्रकार महासंघसंग संस्था अलग भएको छ ।
‘लुम्बिनी केवलकार प्रालिका संचालकहरुसंग संघले अन्तरक्रिया ’:
विशेष भेलापछि पाल्पाको बसन्तपुरमा संचालित लुम्बिनी केवलकार प्रालिका संचालकहरुसंग संघले अन्तरक्रिया समेत गरेको छ । कार्यक्रममा बोल्दै लुम्बिनी केवलकार प्रालिका अपरेशन विभाग प्रमुख रुपेश पौडेलले लुम्बिनी केवलकार नेपालमै नमूना खालको रहेको उल्लेख गरे । केवलकार संचालनपछि लुम्बिनी प्रदेशको पर्यटन क्षेत्र थप चलाएमान भएको उनले बताए ।
पौडेलले भने, ‘दैनिक पाँच सयजना आन्तरिक तथा बाह्य पर्यटकले केवलकार चढेर बुटवलबाट पाल्पाको बसन्तपुर आउने गर्नुभएको छ, यहाँको पर्यटन क्षेत्रलाई लुम्बिनी केवलकारले थप चलाएमान बनाएको हामीले महसुस गरेका छौं ।’ कुल पाँच सय करोड लगानीमा बन्दै गरेको केवलकारको अन्य भौतिक संरचनाको सबै काम पुरा भइनसकेको पनि उनले बताए । स्टार होटल लगायतका भौतिक संरचनाहरु निर्माणको क्रममा रहेको उनले जानकारी गराए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका निवर्तमान अध्यक्ष यानेन्द्र जीसी, संघका अध्यक्ष भुवन कार्की, महसचिव कपिल ज्ञवाली लगायतले बोल्दै पर्यटन क्षेत्रको विकासको लागि सरोकारवाला निकायले आपसमा समन्वय गर्न जरुरी रहको उल्लेख गरे ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)