बुटवल,भदौ ३०।
५९औं राष्ट्रिय बाल दिवसको अवसर पारेर ज्ञानपुञ्ज इ.बो.स्कूलको आयोजना तथा ज्ञानपुञ्ज बालक्लवको सह–आयोजनामा विद्यालयमा हाजिरी जवाफ प्रतियोगिता २०८० सम्पन्न भएको छ ।
अन्तर सदानात्मक हाजिरी जवाफ प्रतियोगिताको अध्यक्षता ज्ञानपुञ्ज बालक्लवका कोषाध्यक्ष साहारा भुसाल कक्षा–९ ले गरेकी थिइन् भने प्रमुख आतिथ्यता विद्यालयका प्राचार्य तोयाराम पौडेलले गर्नुभएको थियो ।
कार्यक्रम सञ्चालन सामाजिक विभाग प्रमुख गणेश गैरे र विज्ञान विभाग प्रमुख कुमार सापकोटा ले गर्नुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि तोयाराम पौडेलले विद्यार्थीमा रहेको आन्तरिक तथा बाह्य ब्यक्तित्व विकासमा हाजिरी जवाफ प्रतियोगिताले सकारात्मक उर्जा थप्ने बताउनु भयो ।
विद्यालयको चाहना भनेकै अध्ययन गर्ने विद्यार्थीहरुलाई समाजमा टिक्ने‚ बिक्ने‚ सिक्ने र सिकाउन सक्ने जनशक्ति तयार पार्नु रहेको बताउनुभयो । उक्त प्रतियोगितामा ब्लु सदनका विपना जि.सी‚ अमित अधिकारी र रेनिसा खड्काले प्रथम स्थान‚ ग्रिन सदनका संस्कृत न्यौपाने‚ विपिन घिमीरे र क्रृष्टि तिमीलसिनाले द्वितीय स्थान र यल्लाे सदनका संमृद्धि श्रेष्ठ‚ राहुल रानाभाट र सागर बेलवासेले तृतीय स्थान प्राप्त गर्न सफल भएका थिए । उत्कृष्ट हुने सफल विद्यार्थीलाई प्रमुख अतिथि तथा प्राचार्य तोयाराम पौडेल इसीए प्रमुख हरि भट्टराइले सम्मान तथा प्रमाणपत्र प्रदान गर्नु भएको थियो ।
कार्यक्रममा विद्यालयका सह–प्राचार्य एवम् विशिष्ट अतिथि हिमलाल न्यौपाने‚ हरि भट्टराइ लगायतले बालबालिकाको महत्व र भोलिको भविष्य वारे प्रकाश पार्नुभएको थियो । त्यसै गरि नर्सरी देखि कक्षा १० सम्मका विद्यार्थीहरुलाई बाल दिवसको अवसरमा बाल दिवसको स्थापनाको महत्व र प्रभावकारिताका बारेमा जानकारी गराइयो ।
केहि विद्यार्थीहरुले बाल दिवसको महत्व बारे वक्तृत्वकला तथा निवन्ध प्रस्तुत गरेका थिए । साथै कार्यक्रममा बालबालिकाहरुलाई सम्मान तथा मिष्ठान्न वितरण गरिएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)