बुटवल,फागुन ६ ।
नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नामिबियामाथि तीन विकेटको सानदार जित हात पारेको छ ।
जितको लागि २ सय ७५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४७.३ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा आसिफ शेख, ज्ञानेन्द्र मल्ल र कुशल मल्लले अर्धशतकीय इनिङको योगदान दिए । आइसिसी विश्वकप लिग २ मा नेपालले पहिलो पटक एकै सिरिजमा तीन खेल जितेको हो ।
नेपालका युवा ओपनर आसिफ शेखले ९८ बलमा ८ चौका र २ छक्कासहित सर्वाधिक ८१ रनको योगदान दिए । आसिफको यो ओडिआई करिअरको छैटौं अर्धशतक हो । अनुभवी ब्याटर ज्ञानेन्द्र मल्ल ७४ बलमा ५ चौका र ३ छक्कासहित ६५ रनमा आउट भए ।
ज्ञानेन्द्रको यो ओडिआई करिअरको सातौं अर्धशतक हो । दोस्रो विकेटका लागि ज्ञानेन्द्र मल्ल र आसिफ शेखले १ सय ३९ कीर्तिमानी शतकीय साझेदारी गरेका थिए । जुन कुनैपनि विकेटका लागि नेपालबाट ओडिआईमा बनेको उच्च साझेदारी हो । यसअघि नामिबियाविरुद्ध नै कुशल भुर्तेल र रोहित पौडेलले तेस्रो विकेटका लागि १ सय ३३ रनको शतकीय साझेदारी गरेका थिए ।
कुशल मल्ल ४९ बलमा ६ चौका र ४ छक्कासहित ६२ रनमा आउट भए । कुशलको यो ओडिआई करिअरको तेस्रो र लगातार दोस्रो अर्धशतक हो । कुशलले स्कटल्यान्डविरुद्ध ८१ रनको इनिङ खेलेका थिए । चौथो विकेटका लागि रोहित र कुशल मल्लले ९२ रनको साझेदारी गर्दै जित नजिक पुर्याएका थिए । रोहित पौडेल ४३ बलमा ५ चौकासहित ३९ रनमा आउट भए ।
यस्तो छ अंक तालिका :
स्कटल्यान्ड ३४ खेलमा २३ मा जित र ९ मा हारका साथ ४८ अंकका साथ शीर्ष स्थानमा छ । ओमान ३६ खेलमा २१ मा जित र १३ मा हारसहित ४४ अंकका साथ दोस्रो स्थानमा छ । नामिबिया ३३ खेलमा १८ मा जित र १४ मा हारका साथ ३७ अंकका साथ तेस्रो स्थानमा छ ।
अमेरिका ३६ खेलमा १६ मा जित र १७ मा हारसहित ३५ अंकका साथ चौथो स्थानमा छ । युएई २६ खेलमा १२ मा जित र ११ मा हारसहित २७ अंकका साथ पाँचौं स्थानमा छ ।
नेपाल २७ खेलमा ११ मा जित र १४ मा हारसहित २४ अंकका साथ छैटौं स्थानमा छ । पपुवा न्युगिनी २८ खेलमा २ मा जित र २५ मा हारसहित ५ अंक जोड्दै पुछारमा छ । शीर्ष तीन टोली सोझै ग्लोबल छनोट खेल्नेछन् । बाँकी चार टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)