बुटवल,माघ २४ ।
मणिमुकुन्द भलिबल क्लब तिलोत्तमाको आयोजनामा देखि सुरु भएको आठौं रनिङशिल्ड भलिबल कपको उद्घाटन खेलमा पर्वत जिल्ला भलिबल संघले विजयी सुरुवात गरेको छ ।
पर्वतले रुपन्देहीलाई ३–० को सोझो सेटमा जित हासिल गर्दै अंक जोड्न सफल भएको हो ।पर्वतले २७–२५, २५–२२ र २६–२४ को सोझो सेटमा रुपन्देहीलाई पराजित गरेको हो । प्रतियोगितामा पर्वतका विष्णु क्षेत्री उत्कृष्ट खेलाडी घोषित भएका छन् । यसैगरी मँगलबार नै भएको दोस्रो खेलमा जिल्ला भलिबल संघ नवलपुर विजयी भएको छ । नवलपुरले जिल्ला भलिबल संघ म्याग्दीलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।
२५–२२, २५–१६ र २५–११को सेटमा जित दर्ता गर्दै नवलपुरले अंक जोडेको हो । प्रतियोगितामा सन्तोष राना मगर म्यान अफ दी म्याच घोषि भए ।यसअघि प्रतियोगिताको उद्घाटन गर्दै तिलोत्तमाका नगर प्रमुख रामकृष्ण खाँणले खेलकूदको विकासका आवश्यक भौतिक पूर्वाधार निर्माण तथा अन्य आर्थिक सहयोगका लागि तयार रहेको बताए ।
यसैगरी लुम्बिनी खेलकुद विकास परिषदका सदस्य सचिव जयप्रकास भट्टराईले खेलकूदको विकासका लागि भौतिक पूर्वाधारको निर्माण तथा खेलाडीहरुलाई प्रोत्साहन हुने कार्यक्रमहरु आवश्यक रहेको बताए ।जिल्ला खेलकूद विकास परिषद रुपन्देहीका हरी क्षेत्री, मणिमुकुन्द भलिबल क्लबका वरिष्ठ सल्लाहकार टुक बहादुर क्षेत्री, संस्थापक सुरेन्द्र गुरुङ लगायतले बोल्दै प्रतियोगिता सफलताका लागि शुभकामना व्यक्त गरे ।
क्लबका अध्यक्ष लोकेन्द्र भण्डारीको अध्यक्षमा भएका कार्यक्रमको सञ्चालन सचिव कासिराज गौतमले गरेका थिए ।क्लबको खेल मैदान तिलोत्तमा २ मा जारी प्रतियोगिताको विजेताले रनिङशिल्डसहित नगद १ लाख ५० हजार, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । यसैगरी उप विजेताले १ लाख नगद राशीसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने तृतीय हुने समूहले ५० हजार नगद राशीसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ ।
यसैगरी सान्त्वना हुने समूहले समेत ३० हजार नगद राशीसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । विधागततर्फ उत्कृष्ट खेलाडीले नगद १० हजारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । यसैगरी बेस्ट सेटर, बेस्ट स्पाइकर, बेस्ट डिफेन्डर, बेस्ट ब्लकर तथा म्यान अफ दि म्याचलाई पनि पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष भण्डारीले बताए ।लिक कम नकआउटका आधारमा खेलाइने प्रतियोगितामा विभिन्न प्रदेशका १० जिल्लाको सहभागिता रहेको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)