बुटवल,असोज २५-
नेपाली कांग्रेसले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बुढीगण्डकी परियोजनामा कांग्रेस सभापति शेरबहादुर देउवाले समेत अनियमितता गरेको भनी दिएको अभिव्यक्तिको प्रतिवाद गरेको छ।
गत साता भट्टराईले बुढी गण्डकी आयोजनाको नौ अर्ब तीन पूर्वप्रधानमन्त्रीले भ्रष्टाचार गरेको अभिव्यक्ति दिएका थिए। भट्टराईको उक्त बोलीलाई कांग्रेस प्रवक्ताले तथ्यको जगमा सत्यको खोजी नगरी आवेगमा आएको टिप्पणी भनेका छन्। भट्टराईको बोलीको खण्डन गर्दै शर्माले भने, ‘क्षणिक लाभ हुनसक्ला तर त्यसले न सम्बन्धित व्यक्तिको ओज अभिवृद्धि हुन्छ न राजनीतिको गरिमा बढ्छ।’
भट्टराईलाई उनको बोली पुष्टि गर्न शर्माले चुनौती दिएका छन्।बुढीगण्डकी आयोजनाका लागि देशको हित अनुकुल कांग्रेसले विगतमा कदम चालेको शर्माले दाबी गरेका छन्। नागरिकबाट अरबौं रुपैयाँ संकलन भइसकेका आयोजनालाई चिनियाँ गेजुवा कम्पनीलाई सुम्पने निर्णय आपत्तिजनक रहेको कांग्रेसले पुनः स्मरण गराएको छ।
अपारदर्शी र आश्चर्यजनक रुपमा चिनियाँ कम्पनीलाई सुम्पिएको कांग्रेसले विगतमा प्रतिक्रिया जनाउँदै आएको थियो।
‘बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना लगानीको खाका तयार गर्न गठित समिति’ समिति आफ्नै पार्टीका सभापति शेरबहादुर देउवाको कार्यकालमा भएको शर्माले प्रष्ट्याए। योजना आयोगका पूर्वउपाध्यक्ष डा स्वर्णिम वाग्ले नेतृत्वको समितिले स्वदेशी लगानीमा आयोजना बनाउन सकिने प्रतिवेदन तयार गरेको थियो।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)