Logo मंगलवार, श्रावण १२ गते २०८३
images

दीपावली : पशुपंक्षी प्रेम,स्वास्थ्य रक्षा, तथा लक्ष्मीको पूजा गर्ने पर्व

दीपावली : पशुपंक्षी प्रेम,स्वास्थ्य रक्षा, तथा लक्ष्मीको पूजा गर्ने पर्व

  • 3.1K
    SHARES

  • दीपावली : पशुपंक्षी प्रेम,स्वास्थ्य रक्षा, तथा लक्ष्मीको पूजा गर्ने पर्व

    डा. बाबुराम ज्ञवाली  

    नीतशास्त्रीहरुले धनको मुक्त कण्ठले प्रशंसा गरेका छन् । आचार्य कौटिल्यले भनेका छन् अर्थले नै धर्म र कामका आवश्यकता पूरा हुन्छन् ।

    आचार्य शुक्रले भनेका छन् धन महत्त्वपूर्ण भएकाले प्राण संकटमा पारेर भए पनि अर्थ आार्जनका प्रयास गर्नु पर्छ । आचार्य विष्णु शर्माले भनेका छन्– जसरी भोजनले गर्दा शरीरका सशक्त बनेका इन्द्रियहरुले शरीरका सम्पूर्णकाम आफैं गरिरहेका हुन्छन्, त्यसै गरी धन उपस्थित हुनासाथ मानिसका सबै आवश्यकता आफैं पूरा भइरहेका हुन्छन् । त्यसैले वित्तलाई समस्त साधनहरुको कारण भनिन्छ ।

    पर्वहरुलाई वर्ण परम्परामा विभाजन गरी श्रावणी ब्राह्मणको, दशैं क्षत्रियको, दीपावली वैश्यको र होली अन्त्यजहरुको पर्वको रुपमा मान्ने परम्परा भए तापनि अहिले यी सबै पर्वहरु हिन्दु मात्रको भएका छन् ।

    यस महत्त्वलाई हार्दिक सम्मान दिने पर्व हो तिहार । यसका सबै पर्वले केही न केही सन्देश दिएका छन् । तर यसको नाम दीपावलीले लक्ष्मी पूजालाई जनाउँछ । गाई पूजा पनि एक प्रकारले लक्ष्मी पूजा हो भने गोवर्धन सहकालको कामना साथ गरिएकोले त्यो पनि धनधान्यको सम्मान हो भन्न सकिन्छ । कागले शुभसन्देशका लागि र कुकुरले मित्रता, र सुरक्षाका लागि सम्मान पाउंछ । भाइतिहारले पारिवारिक प्रेम बिना धन अर्थहीन छ भन्ने सन्देश दिएको छ ।kag and kukur.jpg

    आयुर्वेद प्रवर्तक धन्वन्तरी दिवस मनाए पछि मात्र लक्ष्मी पूजा गर्नुको एक प्रतीकात्मक अर्थ पनि छ, त्यो के हो भने शरीर स्वस्थ छ भने मात्र ऐश्वर्यको भोग गरेर आनन्द लिन सकिन्छ । रोगी र निस्तेज शरीरलाई धनले मात्र सुख प्रदान गर्न सक्ंदैन । कुन यस्तो काम छ जुन धनले पूरा गर्न सक्दैन् ? त्यसैले भनिन्छ– देवी लक्ष्मी तिमीलाई ब्रह्मा विष्णु र महेश्वरले ध्याउन्ना गर्छन् । लक्ष्मी भनेकै ऋद्धि सिद्धि दुवै हुन् । ऋद्धिको अर्थ हो सन्तुष्टि, प्रशस्त ।

    ऋद्धिमा प्रयुक्त शब्द ऋ शक्तिको प्रतीक हो । सिद्धि भनेको सफलता हो । जुन घरमा लक्ष्मी छन् ,त्यहा्ंका मानिस जुन सकुकै काम गर्न आँट प्राप्त गर्छन् ।किनभने उनका लागि सबै सम्भव छ । यज्ञ, वस्त्र, भाजन, घरको सम्पन्नता बिना लक्ष्मी कसरी प्राप्त हुन सक्छ ? लक्ष्मीको गुणगान यही कारणले सबैले गर्छन् । laxmi-pujan.jpg

    लक्ष्मीको सर्वाधिक प्रचलित प्रतिक हो मुद्रा, धन, नोट । संसारका सबै मुद्राहरुमा नोटलाई कुनै कुनै रुपमा पवित्रता, शक्ति र गौरवको रुपमा लिइन्छ । इन्डोनेशियाको मुद्रामा कुबेर र गणेशको चित्र अंकित गरिन्छ । जबकि त्यो एक इसलामिक देश हो । अमेरिकाको डलरमा लेखिएको छ इन गड वी ट्रष्ट । अन्य देशमा त्यस देशको सबभन्दा प्रतिष्ठित र पूज्य कुरालाई मुद्रामा अंकित गरिन्छ । जसले मुद्रालाई त्यही सम्मान प्रदान गर्छ जुन हामीले देवी लक्ष्मीलाई प्रदान गर्छौं ।

    स्वाभाविक रुपमा मानिसहरुलाई चाडबाडले मनोरञ्जन  र प्रसन्नता पनि दिन्छन् । तर पनि चाडबाड भित्र सन्देश लुकेका छन् । हाम्रा चाडबाड ऋतु परिवर्तन, पारिवारिक मिलन, वातावरणीय सन्तुलन, प्रकृति सम्मान, बाली भित्र्याउने खुशियाली इत्यादि धेरै कुरालाई संकेत गर्छन् । विगतमा जुन जुन उपलब्धिका लागि यी चाड बाड मनाइए ती सबै वर्तमान चाडमा कहीं न कहीं गांसिएका छन् । जसलाई अनुभव गर्न सक्नु पर्छ ।

    प्रत्येक पर्वका लागि कुनै न कुनै मन्त्र, गीत वा संगीत निर्माण गरिउका छन् । ती गीत, संगीत, कथा र  मन्त्रले हामीलाई हाम्रा ती पुर्खासंग लिंक जोड्छ जसले यी चाड पर्व सुरु गरेका हुन् । निश्चित रुपमा उनीहरुले सुरु गर्दा यी चाड अर्कै रुपमा थिए होलान् । कति पटक यी चाडको समय परिवर्तन भए होला ? चाड मनाउंदा कति पटक राज्य व्यवस्थासंग विवाद पनि परे होला । कुनै चाड समाजले बढी मन पराएको होला ।

    कुनै चाड राज्यले बढी मनपराएको होला । यी सबैको प्रभाव चाडबाडमा परे होला । उदाहरणका लागि राजा अकबरको समयमा रक्षा बन्धन पर्वलाई प्रतिबन्ध लगाइयो । यो कुरा जहांगीरले आफ्नो आत्मकथामा उल्लेख गरेका छन् । आज कुनै अन्य कारणले भए पनि चाडबाड खुम्चिएको छन् । गतःवर्ष सबैले नेपालीहरुले दशैं खुम्चिएर मनाए । यस पल्ट अलिकति रौनक आएको छ ।

    विगतमा पनि चाडबाडमा महामारी, मौसम सबै कुराको प्रभाव परेको थियो होला । तथापि अर्को वर्ष त्यो कमी पूरा हुंदै आएकोले यी चाडहरु जीवित छन् । त्यसमा पनि दीपावलीको सुन्दरता अवर्णनीय छ । प्रकृतिले चारैतिर सुन्दर मौसमी फूल फुलाएर मानौं दीपावलीलाई स्वागत गर्दछ् । मानिसहरुले घर, झ्याल, ढोका सफा गरेर, रंग लगाएर, घर लिपेर लक्ष्मीलाई स्वागतको तैयारी गर्छन् ।

    लक्ष्मीको उत्पत्ति समुद्र मन्थनबाट भएको पौराणिक कथा छ । समुद्र मन्थनमा सुर र असुर दुवैको समान परिश्रम परेको कुरा पुराणहरुमा स्पष्ट गरिएको छ । यस कथाले हाम्रा पुर्खाहरुको अनौठो कल्पनाशीलता, प्रतीकात्मकता र उदार हृदयतालाई पनि स्पष्ट गर्छ । धनको उत्पादन मात्र होइन त्यसको उपभोग पनि महत्वपूर्ण कुरा हो । धनको सही उपयोगको कामना पनि लक्ष्मीपूजाको एक उद्देश्य हुनु पर्छ । असुरहरुले सही उपयोग गर्न नसक्ने भएकोले लक्ष्मी आफैंले देवतालाई रोजेर विष्णुसंग गइन् ।   

    उज्यालोको चाड दीपावलीसंग के मान्यता छ भने दीपावलीको अवसरमा लक्ष्मीले प्रत्येक गृहस्थको घरमा गएर आफू बस्न लायक योग्य घर कुन हो भनेर खोज्दै हिंड्नु हुन्छ । घरको स्वच्छता, सुन्दरता र शोभा यी सबै कुरालाई हृदयंगम गरी सुन्दर घरमा लक्ष्मीको वास हुन्छ । जुन गृहस्थको घरमा स्वच्छताको अभाव छ लक्ष्मीको वास त्यहां हुंदैन ।

    लक्ष्मीले कस्तो ठाउंमा वास गर्छिन् भन्ने बारेमा महाभारत शान्ति पर्वमा यस्तो कुरा उल्लेख छ –

    जुन पुरुष निर्भीक, सच्चरित्र, कर्तव्यपरायण, विनम्र, भगवद् स्मरण गर्ने, जितेन्द्रिय, स्वधर्म र कर्तव्य पालन गर्ने तथा सदाचरण युक्त हुन्छ त्यस कहां लक्ष्मीको वास हुन्छ । यसै गरी जुन स्त्री क्षमाशील, जितेन्द्रिय, सत्यपरायण, शीलवती, पति परायण, सबको मंगल कामना गर्ने, तथा सद्गुणी छन् तिनीहरुकहां पनि लक्ष्मीको वास हुन्छ ।baburam-removebg-preview.png

    यसका विपरीत अकर्मण्य, नास्तिक, वर्णसंकर, दुराचारी, क्रूर,  गुरुजनको दोष खोज्दै हिंड्ने, कर्तव्यपरायणताको अभाव हुने पुरुष तथा आफनो घर गृहस्थीको बेवास्ता गर्ने, सोच विचार नगरी काम गर्ने, निर्लज्ज, अपवित्र, झगडालु, र अल्छी स्त्रीहरुकहां पनि लक्ष्मीको वास हुंदैन भनिएको छ । 

    यसबाट स्पष्ट हुन्छ कि लक्ष्मीले वास गरुन् यसकालागि केवल लक्ष्मी पूजन मात्र पर्याप्त छैन उनको स्थायी बसोबासका लागि मानिसले प्रयास पूर्वक आफू भित्र केही विशिष्ट गुणहरुको सिर्जना गर्नु पनि उत्तिकै जरुरी         हुन्छ । श्री यन्त्र बनाएर श्रीसूक्त पढेर देवी लक्ष्मीको आराधना गरिन्छ ।

    देवी लक्ष्मीको स्तुतिका अनेक मन्त्र र यन्त्र छन् । श्री सूक्त, कनकधारा स्तोत्र, महालक्ष्मी स्तोत्र इत्यादि । एउटा मन्त्र निम्नलिखित मन्त्र जप गर्न सकिन्छ

    ॐ महालक्ष्मै विद्महे, विष्णुप्रियाय धीमहि तन्नो लक्ष्मीः प्रचोदयात् ।।

    ॐ आद्यन्तरहिते देवी आद्यशक्ति महेश्वरी ।

    योगजे योगसम्भूते महालक्ष्मि नमोऽस्तुते ।।

    स्थूल सूक्ष्ममहारौद्रे, महाशक्ति महोदरे ।

    महापापहरे देवि महालक्ष्मि नमोऽस्तुते ।।

    पद्मासनस्थिते देवि परब्रह्म स्वरुपिणि ।

    परमेशी जगन्माता  महालक्ष्मि नमोऽस्तुते ।।

    श्वेताम्बरधरे देवि नालंकारभूषिते ।

    जगत्स्थिते जगन्मातः महालक्ष्मि नमोऽस्तुते ।।

    व्यापारिक प्रतिष्ठानहरुमा लक्ष्मीको विशेष पूजा गरिन्छ । द्रवयका साथै मसीलाई महाकालीको स्वरुप, लेखनीलाई देवस्वरुप तथा बही खातालाई सरस्वतीको स्वरुप मानेर मसी, कलम र खाताको पूजन गर्नु पर्छ ।

    धन सम्पत्तिको रेख देख गर्ने देवता कुबेर भएकाले उनको पनि पूजन गर्नु पर्छ । रुपैयां राख्ने सेफलाई नै कुबेरको स्वरुप मानिन्छ ।

    दीपावलीको पर्वको विशेषता के हो भने यसले सबैलाई प्रसन्नता प्रदान गर्छ । गृहिणीलाई स्वच्छ, सुन्दर र शोभायुक्त घर प्राप्त हुन्छ, किसानलाई अन्न बाली भित्रिने खुशियाली प्राप्त हुन्छ, पारिवारिक हिसाबले भेटघाटको खुशियालीको अवसर हुन्छ भने व्यापारीका लागि आफ्नो हिसाब किताब फस्र्यौटको खुशियाली प्राप्त हुन्छ ।

    दीपावली उज्यालोको चाड हो जसले अन्धकारबाट उज्यालो तर्फ जाने मानवीय चाहना प्रतिबिम्बित गर्छ ।

    त्यसैले भनिएको छ- तमसोमा ज्योतिर्गमय ।

    brgewali_2008@yahoo.com

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology