बुटवल,चैत्र १३-
नेपाली काँग्रेसका नेता नवीन्द्रराज जोशीको निधन भएको छ । पूर्वमन्त्री समेत रहेका उनको नर्भिक अस्पतालमा उपचारका क्रममा शुक्रबार राति निधन भएको उपचारमा संलग्न चिकित्सक राजीव झाले पुष्टि गरे । जोशी नेपाली काँग्रेस केन्द्रीय सदस्य तथा पूर्वसांसद समेत हुन् । उनी प्रचण्ड दोस्रो पटक प्रधानमन्त्री हुँदा उद्योग मन्त्री भएका थिए ।
फागुन १४ गते मष्तिष्कघात भएको थियो । सोही दिन राति जोशीलाई वीर अस्पताल भर्ना गरिए पनि राति नै नर्भिक अस्पताल रिफर गरिएको थियो । नर्भिकले सुरुदेखि नै भेन्टिलेटरको सहायतामा उपचार गरिरहेको थियो ।
स्वर्गीय जोशीलाई नजिकबाट चिनाैँ :
जोशी काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ नेविसंघबाट राजनीति सुरु गरेका थिए । उनी नेविसंघ काठमाडौं जिल्ला उपाध्यक्ष, अध्यक्ष हुँदै केन्द्रीय सदस्य, सह महामन्त्री र महामन्त्री बनेका थिए । जोशी २०४८ सालको बुटवल अधिवेशनमा अध्यक्ष पराजित भएसँगै विद्यार्थी राजनीतिबाट पार्टीको राजनीति प्रवेश गरेका थिए ।
नेपाली काँग्रेसका संस्थापक नेता गणेशमान सिंहको छत्र छायाँमा राजनीति गरेका जोशी २०४९ सालमा काठमाडौं महानगरको उपमेयर भएका थिए ।
पछि २०५६ सालमा युवा स्वरोजगारका कार्यकारी उपाध्यक्ष राज्यमन्त्री सरह भएका थिए । जोशीले त्यसै बखतमा युवा स्वरोजगारका क्षेत्रमा थुप्रै नीतिगत काम गरेका थिए ।
जोशीले २०५२ सालमा गणेशमान सिंहको जीवनीमा अध्ययन र अनुसन्धान गर्न गणेशमान सिंह अध्ययन प्रतिष्ठान खोले र गणेशमान सिंहको जीवनीमा आधारित वीर गणेशमान चलचित्र समेत निर्माण गरेका थिए ।
जोशीले २०६४, ७० को संविधानसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ८ बाट विजयी भएका थिए । उनी पहिलो संविधानसभामा नेपाली काँग्रेस प्रवक्ता र सीमा अध्ययन समितिको संयोजक बनेका थिए ।
दोस्रो संविधानसभामा संविधान जारी भएपछि उनी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरेको सरकारमा उद्योग मन्त्री भएका थिए । अबको यात्रा आर्थिक समृद्धि भन्दै जोशीको अथक पहलमा २५ वर्षपछि अन्तर्राष्ट्रिय लगानी सम्मेलन नेपालमा आयोजना भएको थियो । मन्त्री हुँदा जोशीले बन्द उद्योग खोलाउने ,उद्यमशीलता युवा , उद्योगको विकास लगायत थुप्रै राम्रो काम गरेका थिए ।
उद्योग मन्त्री हुँदा जोशीले रुग्ण र बन्द अवस्थामा रहेका आठ वटा उद्योगलाई सञ्चालन गर्ने योजना अगाडि बढाएका थिए । उनका पालामा थुप्रै औद्योगिक अवरोधहरू हटाइ कानुनी सुधार पनि गरिएको थियो। दुईपटक पार्टी केन्द्रीय सदस्य बनेका जोशी हाल पनि केन्द्रीय सदस्य थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)