चितवन,जेठ १७ ।
नवलपुरको गैंडाकोट नगरपालिका–१५, चिन्तामणी टोलमा घरायसी विवादका क्रममा बुबाले आफ्नै छोराको हत्या गरेका छन्।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार स्थानीय ६३ वर्षीय डम्मर गिरीले आफ्ना ४३ वर्षीय छोरा शंकर गिरीमाथि धारिलो हतियार खुर्पा प्रहार गर्दा उनको मृत्यु भएको हो।
प्रहरीका अनुसार शनिबार राति करिब १० बजे बुबा–छोराबीच घरायसी विषयलाई लिएर विवाद सुरु भएको थियो। प्रारम्भमा सामान्य भनाभनबाट सुरु भएको विवाद पछि उग्र बनेको बताइएको छ।
विवादकै क्रममा डम्मर गिरीले शंकरमाथि खुर्पा प्रहार गरेका थिए। टाउकोमा गम्भीर चोट लागेका शंकरलाई तत्काल स्थानीय र परिवारजनको सहयोगमा उद्धार गरी उपचारका लागि चितवनको भरतपुरस्थित नयाँ मेडिकल कलेज पठाइएको थियो।
उपचारका क्रममा शनिबार राति १०:४५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रवक्ता डिएसपी अनिल पण्डितले जानकारी दिए।
घटनापछि प्रहरीले घटनास्थलबाट प्रयोग गरिएको खुर्पा बरामद गरेको छ। आरोपी डम्मर गिरीलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)