Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवलमा ‘छोरी पढाऔं, समाज बनाऔं’ कार्यक्रम,बिटिआईमा ४० जना छात्रालाई निःशुल्क अवसर !

बुटवलमा ‘छोरी पढाऔं, समाज बनाऔं’ कार्यक्रम,बिटिआईमा ४० जना छात्रालाई निःशुल्क अवसर !

  • 753
    SHARES

  • बुटवलमा ‘छोरी पढाऔं, समाज बनाऔं’ कार्यक्रम,बिटिआईमा ४० जना छात्रालाई निःशुल्क अवसर !

    बुटवल,साउन १८ ।

    रुपन्देहीको बुटवल उपमहानगरपालिकाले ‘छोरी पढाऔं, समाज बनाऔं’ कार्यक्रम शुभारम्भ गरेको छ । बुटवल टेक्निकल ईष्टिच्यूट (बिटीआइ) मा ४० जना छात्राका लागि निःशुल्क २ वर्षे प्रि–डिप्लोमा इलेक्ट्रिकल इन्जिनियरिङ र मेकानिकल इन्जिनियरिङ कार्यक्रम सुरु गरिएको छ । उक्त कार्यक्रमको शुक्रबार बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले शुभारम्भ गर्नुभयो ।

    सो अवसरमा बोल्दै नगरप्रमुख पाण्डेयले देशभरका पालिकाहरुमा यति धेरै छात्रालाई निशुल्क छात्रबृत्ति कार्यक्रम ल्याएको बुटवल उपमहानगरपालिका पहिलो भएको दावी गर्नुभयो । उहाँले यो कार्यक्रमप्राविधिक जनशक्ति उत्पादन र उद्योगहरुको आवश्यकता पूर्तिका लागि महत्वपूर्ण हुने पनि विश्वास व्यक्त गर्नुभयो ।

    बुटवल टेक्निकल ईष्टिच्यूटका अध्यक्ष समेत रहनुभएका नगरप्रमुख पाण्डेयले स्थानीय आवश्यकता पूर्तिका लागि स्थापना गरिएको बुटवल टेक्निकल ईष्टिच्यूटबाट उत्पादन भएको जनशक्ति देशका साना ठूला सबैखाले उद्योगहरुमा खपत भईरहेको बताउँदै बिटिआईलाई अझै व्यवस्थित गर्नुपर्नेमा जोड दिनुभयो ।

    त्यसैगरी बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले महिलालाई हरेक क्षेत्रमा प्रतिस्पर्धी बनाउनका लागि छात्रालाई प्राविधिक शिक्षा पढाउनको लागि ‘छोरी पढाऔं, समाज बनाऔं’ कार्यक्रम ल्याईएको बताउनु भयो । उहाँले २ वर्षको अध्ययनपछि ईञ्जिनियर बन्ने भएकाले पढाईका क्रममा आईपर्ने कठिनाईबाट नआत्तिन आग्रह गर्नुभयो ।

    त्यसैगरी बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रमणी खनालले विद्यार्थीलाई सीपयुक्त शिक्षा दिनको लागि नगरपालिकाले विभिन्न कार्यक्रम ल्याएको बताउँदै सोही अनुसार ‘छोरी पढाऔं समाज बनाऔं’ कार्यक्रम ल्याएको बताउनु भयो ।

    उहाँका अनुसार यो कार्यक्रमका लागि नगरपालिकाले ५० लाख विनियोजन गरेको छ । कार्यक्रम अन्तर्गत १६ बर्षे उमेर पुगेका छात्राका लागि २ वर्षे प्राविधिक तालिम सुरु गरिएको हो । जसमा मेकानिकलमा २० जना र इलेक्ट्रोनिकमा २० जना छात्रा सहभागि छन् ।

    BTI education photo (2).jpeg

    यो कार्यक्रमका लागि ६७ जनाले आवदेन दिएको र त्यसमध्ये ४० जनालाई छनौट गरिएको हो । यो कार्यक्रममा बुटवल उपमहानगरपालिकाका छात्रालाई प्राथमिकता दिईएको र १७ जना छनौट भएकोमा कार्यक्रममा ५ जना मात्रै सहभागि भएको बिटिआईले जनाएको छ । बाँकी ३५ जना रुपन्देहीसहित अन्य जिल्लाका हुन् ।

    त्यस अवसरमा बुटवल टेक्निकल ईष्टिच्यूटका तालिम विभाग प्रमुख मानकाजी कुमालले २ वर्षे मेकानिकल र इलेक्ट्रिोनिक तालिम नर्वेजियन मोडल २० प्रतिशत पढाई र बाँकी ८० प्रतिशत प्रयोगात्मक हुने जानकारी गराउनु भयो ।

    उहाँका अनुसार पहिलो ३ महिना बिटिआईमै राखेर पढाईने र त्यसपछिको समयमा विभिन्न उद्योगहरुमा प्रयोगात्मक अभ्यास गराईनेछ । उद्योगमा प्रयोगात्मक अभ्यासका लागि आएका विद्यार्थीलाई उद्योगले पहिलो वर्ष प्रति विद्यार्थी ४ हजार ८७० रुपैंया प्रदान गर्नुपर्नेछ ।

    यो रकमबाट २ हजार रुपैंया बिटिआईले प्राप्त गर्दछ । त्यस्तै दोस्रो वर्ष प्रति विद्यार्थी ५ हजार ८६३ रुपैंया प्रदान गर्नुपर्छ । त्यसबाट २ हजार ४०३ रुपैंया विटिआईले प्राप्त गर्ने निमित्त प्रशासकीय अधिकृत सम्झना सुवेदीले बताउनु भयो । यहि प्रावधानका कारण कतिपय उद्योग प्रतिष्ठान र सरकारी कार्यालयले पनि बिटिआईमा अध्ययनकै क्रममा रहेको विद्यार्थीलाई राख्न अनिक्षा देखाउने गरेको उहाँको भनाई छ ।

    बिटिआईमा अध्ययनका लागि भर्ना हुँदा ८ हजार रुपैंया डिपोजिट सहित ४४ हजार रुपैंया भर्ना शुल्क बुझाउनु पर्छ । त्यसबाहेक लाग्ने शुल्क विद्यार्थी उद्योगमा गएर प्रयोगात्मक तालिममा प्राप्त गर्ने मध्येको रकमबाट लिइने बिटिआईका लेखा प्रमुख गोविन्द न्यौपानेले जानकारी गराउनु भयो ।BTI education photo (3).jpeg

    २०२० सालमा स्थापना भएको बुटवल टेक्निकल ईष्टिच्यूटमा २ वर्षे अवधिका मेकानिकल, ईलेक्ट्रिकल, सिभिल (विल्डिङ् एण्ड कन्स्ट्रकसन) र वेल्डिङ तालिम कार्यक्रम सञ्चालन भईरहेको छ । जसमा अहिले ३ सय विद्यार्थी रहेको तालिम विभाग प्रमुख कुमाल बताउनु हुन्छ । त्यस बाहेक १ हप्तादेखि १० महिना सम्मका छोटो अवधिका तालिम कार्यक्रम समेत सञ्चालन भईरहेको उहाँले बताउनु भयो ।

    बुटवल टेक्निकल इन्स्टिच्यूट (बिटिआई) एक सामुदायिक प्राविधिक शैक्षिक संस्था हो । यो शैक्षिक संस्था सन् १९६३ मा युनाइटेड मिसन टु नेपाल (युएमएन)को नर्वेका इन्जिनियर ओड होफ्टनको नेतृत्वमा स्थापना गरिएको थियो ।BTI education photo (1).jpeg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology