काठमाडौं, जेठ २२ ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालको सांसद पद निलम्बनमा परेको छ।
आयोगले बिहीबार अध्यक्ष नेपालविरूद्ध पतन्जलीको जग्गा हिनामिना प्रकरणमा अध्यक्ष नेपालविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।
भ्रष्टाचार मुद्दा दायरसँगै सांसद नेपालको पद स्वतस् निलम्बनमा परेको छ। भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३३ अनुसार राष्ट्रसेवकलाई भ्रष्टाचार मुद्दा लागेमा मुद्दा किनारा नलागेसम्म स्वतस् निलम्बनमा रहने व्यवस्था छ।
अध्यक्ष नेपालसँग १८ करोड ५८ लाख ५० हजार बिगो मागदाबी भएको विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए।
काभ्रेमा रहेको पतन्जली योग पिठ तथा आयुर्वेदिक कम्पनीका नाममा रहेको हदबन्दी छुटको जग्गा किनबेच गरेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अध्यक्ष नेपाल सहितको बयान लिएको थियो।
२०६६ सालमा माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा मन्त्रिपरिषदबाट निर्णय गरेर हदबन्दी छुटमा रहेको जग्गा खरिद गर्ने स्वीकृति दिइएको थियो। तर पछि हदबन्दीभन्दा बढी कानुनविपरीत जग्गा बिक्री गरेको भन्दै उजुरी आएपछि अख्तियारले यसबारे अनुसन्धान अघि बढाएको थियो।
अध्यक्ष नेपालसहित अख्तियारले ९३ जनाविरूद्ध मुद्दा दायर गरेको हो। पूर्वकानुन मन्त्री प्रेमबहादुर सिंह, तत्कालीन भूमि सुधार सचिव छविराज पन्तलगायतविरूद्ध विशेष अदालतमा मुद्दा दायर भएको हो।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)