बुटवल,चैत्र ९ ।
अन्तर्राष्ट्रिय वन दिवसको अवसरमा लुम्बिनी इन्टिग्रेटेड एकेडेमीले प्रभातफेरी र अन्तर्क्रिया सम्पन्न गरेको छ । ‘वन र खाना’ विषय रहेको यस वर्षको वन दिवसको अवसरमा एकेडेमीको प्राङ्गणबाट शंकरनगर सामुदायिक वन उपभोक्ता समूहको कार्यालयसम्म प्रभात फेरि सम्पन्न भएको हाे ।
प्रभातफेरि पश्चात एकेडेमीका विद्यार्थी र शंकरनगर वन उपभोक्ता समूहका पदाधिकारीबीच अन्तर्क्रिया सम्पन्न भएको हाे ।
स्नातक तहका वनविज्ञानका विद्यार्थीहरूले वन उपभोक्त समूहका अध्यक्ष तथा पदाधिकारीसँग वन व्यवस्थापन, प्रयोग र चुनौतीबारे छलफल गरेका थिए ।
साे अवसरमा शंकरनगर वन उपभोक्ता समूहका अध्यक्ष रवीन्द्र बस्नेतले २०३६ सालमा मासिएको वन सामुदायिक प्रयत्नबाट संरक्षण तथा विस्तार भएको उल्लेख गरे ।
लुम्बिनी इन्टिग्रेटेड एकेडेमी लुम्बिनी प्रदेशको एकमात्र वन विज्ञान अध्ययन हुने शैक्षिक संस्था हो ।
शंकरनगर वन उपभोक्ता समूहले तिलोत्तमाको वडा नं. १देखि ४ सम्म सेवा प्रदान गर्ने र ४ हजार भन्दा बढी घरधुरी रहेको बताए । सामुदायिक वनले उपसमूहको रुपमा शंकरनगर वनवाटिका तथा अनुसन्धान केन्द्र सञ्चालन रहेको जानकारी गराउँदै अध्यक्ष बस्नेतले वन डढेलो अहिलेको चुनौती रहेको उल्लेख गरे।
वन उपभोक्ता समूहका उपाध्यक्ष कमला ज्ञवालीले सामुदायिक वन उपभोक्ता समूहले महिलाको सशक्तिकरण पनि योगदान गरेको बताइन ।
लुम्बिनी इन्टिग्रेटेड एकेडेमीका प्रमुख कार्यकारी अधिकृत पुरन केसीले कक्षामा पढेको विषयलाई प्रत्यक्ष अध्ययन र अवलोकनको लागि कार्यक्रम गरिएको बताए । त्यस्तै बि.एस्सी.फरेस्टीका संयोजक सम्मान न्यौपानेले जलवायु परिवर्तनले खाद्य सुरक्षामा सङ्कट सिर्जना गरेको वर्तमान परिस्थितिमा वनको संरक्षण र व्यवस्थापन जरुरी रहेको बताए ।
साे अवसरमा उपभोक्ता समूहका कोषाध्यक्ष भुवन आचार्य, सचिव कालिका अधिकारीको उपस्थिति रहेको थियो । कार्यक्रम एकेडेमीका शैक्षिक संयोजक रामचन्द्र श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)