बुटवल,माघ २९ ।
प्रेस विरोधी कानून ल्याउन नदिन पत्रकारहरु चनाखाे हुनुपर्ने सञ्चार क्षेत्रका अगुवा तथा सरोकारवालाले बताएका छन् ।
नेपाल प्रेस युनियन रुपन्देहीले शनिबार तिलोत्तमाको वनवाटिकामा आयोजना गरेको अन्तरक्रिया तथा सम्मान कार्यक्रममा उनीहरुले तीनवटै सरकारबाट जारी हुने कानून प्रेसमैत्री छन कि छैनन् भन्ने कुरा खोज्नुपर्ने उल्लेख गरे ।
कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले वर्तमान सरकारमा लोकतन्त्र र प्रेस स्वतन्त्रता मन नपराउनेहरु पनि रहेकाले सतर्क हुनुपर्ने बताए । प्रेस युनियन नयाँ ढंगले अघि बढ्नुपर्ने भन्दै उनले नेताहरुको पछि लाग्न छाडेर जनताका गुनासा र समस्याका बारेमा युनियनले लगातार अन्तरक्रिया गर्नुपर्ने उल्लेख गरे ।
युनियनका केन्द्रीय उपाध्यक्ष माधव अर्यालले केन्द्र, प्रदेशदेखि स्थानीय सरकारसम्म कार्यहरुप्रति पत्रकारले कलम चलाउनुपर्ने बताए ।युनियनका महासचिव दिलिप पौडेलले पछिल्लोपटक नयाँ दलहरुले पनि नेपाली सञ्चारमाध्यमप्रति धावा बोल्ने काम भएको भन्दै त्यसले प्रेस जगतलाई चिन्तित बनाएको बताए ।
बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्वल कसजुले शहरका समस्यासँगै व्यवसायीका समस्याहरुलाई पनि उठान गर्न पत्रकारहरुसँग आग्रह गरे । प्रेस युनियन रुपन्देहीकी सभापति रेखा भुसालले युनियनका सबै सदस्य र शुभेच्छुकहरुबीच आपसी भेटघाट सम्बन्ध विस्तार होस् भनेर वनभोजसँगै अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको बताइन् ।
युनियन रुपन्देहीकी कार्यवाहक सचिव कल्पना तिवारीको सञ्चालनमा भएको कार्यक्रममा रुपन्देहीबाट प्रतिनिधित्व गर्ने प्रेस युनियन लुम्बिनी प्रदेश समितिका नवनिर्वाचत पदाधिकारी र सदस्यहरुलाई सम्मान गरिएको थियो ।
त्यस्तै प्रेस युनियनका केन्द्रीय पदाधिकारीहरुलाई समेत युनियन रुपन्देहीले सम्मान गरेको थियो । वनभोजसहितको अन्तरक्रिया कार्यक्रममा युनियनका केन्द्र, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यसँगै पूर्व केन्द्रीय सदस्य, सल्लाहकार र शुभेच्छुकहरुको सहभागीता रहेको थियो । 
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)