बुटवल,मंसिर ९ ।
रुपन्देही २ को मतगणना रोकिएको छ । एमाले उपाध्यक्ष बिष्णु पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलको टक्कर रहेको यहाँ मतगणनाका क्रममा मतपेटिकामा हस्ताक्षर नमिलेका बढी मतपत्र भेटिएको छ ।
पेटिकामा बढी मतपत्र भेटिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा माओवादी र नेपाली कांग्रेस लगायतका दलहरूले धर्ना दिएका छन् । एउटा बाकस गन्दै जाँदा ३३ मत बढी भेटिएको र कतिपय मतपत्रमा हस्ताक्षर नमिलेको गणनामा संलग्न शंकर गाहाले बताए ।
केही मत गणना बाँकी रहँदा पेटीकामा धेरै मत भेटिएपछि अहिले गणना स्थगित गरी धर्ना शुरु भएको छ । क्षेत्र न २ का निर्वाचन अधिकृत उद्वीर नेपाली उम्मेदवारी दर्तामा पुगेका दलहरुलाई फरक-फरक ब्यबहार गरेपछि बिबादित छन् । एमाले बाहेकका दलहरुले केहिबेरमा पत्रकार सम्मेलन गर्न लागेका छन् ।
निर्वाचन अधिकृत नेपालीले भने डाटा राख्ने बिषयमा बिबाद भएको र केहिबेरमा सुचारू हुने दाबी गरे । बढी मतपत्र भेटिएको नभइ डाटा राख्ने बेला महिला-पुरुषको फरक टिपिएका कारण समस्या भएको कम्प्युटर अपरेटर बुद्धि पराजुलीले बताए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)