धनगढी,असार २७ ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले चुनावअघि कुनै पनि पार्टीसँग एकता नगर्ने बताएका छन् ।
प्रेस संगठन धनगढीले सोमबार बिहान गरेको पत्रकार भेटघाटका क्रममा अध्यक्ष नेपालले आगामी निर्वाचनसम्म एकता सम्भव नभएको तर वाम शक्तिहरूबीचको एकता आवश्यक रहेको बताएका हुन् ।
नेकपा माओवादी केन्द्रसँग एकीकरण हुने चर्चा चलेको विषयमा नेपालले अगामी निर्वाचनअघि नै कुनै पार्टीसँग एकता नहुने जवाफ दिए ।
‘वाम शक्तिलाई एक ठाउँमा ल्याउन विगतमा पनि हामीले भूमिका खेलेका छौं । विभिन्न हिसाबले विचार मिल्ने वाम शक्तिहरूसँग सहकार्य गरेर जान तयार छौं’ नेपालले भने, ‘यस अर्थमा संविधान मिच्ने काममा भूमिका नखेलेका, प्रगति र परिवर्तनको पक्षमा भएका तथा समाजवादको यात्रामा रहेका शक्तिहरूसँग सहकार्य गरेर अघि बढ्छौं ।’
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)