बुटवल,वैसाख २६।
नेपाल स्वयंसेवी रक्तदाता समाज, तिलोत्तमा शाखा र ग्लोबल ओरियन्स नेपाल जानकीनगरको संयुक्त आयोजनामा तिलोत्तमा ३ जानकीनगरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
७० जनाले रक्तदान गरेको कार्यक्रम नेपाल स्वयंसेवी रक्तदाता समाज तिलोत्तमा शाखाका अध्यक्ष गोविन्द भुसालको अध्यक्षता, तिलोत्तमा वडा नं. ३ का वडाध्यक्ष कल्याण पौडेलको प्रमुख आतिथ्यता रहेको थियो ।
उक्त कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय महासचिव कृष्ण चौहान क्षेत्री, नेपाल स्वयंसेवी रक्तदाता समाज तिलोत्तमा शाखाका सल्लाहकार तथा नेपाल रेडक्रस सोसाइटी मणिग्राम उपशाखाका सभापति टेकबहादुर थापा, ग्लोबल ओरियन्स नेपाल जानकीनगरका इन्चार्ज दिपक शाह लगायतले बोल्दै रक्तदान जस्तो पवित्र दान जीवनमा अरु केही हुन नसक्ने भएकाले यस्तो कार्यमा सदैब लाग्नुपर्नेमा जोड दिनुभएको थियो ।
काठमाडौं बालाजुमा केन्द्रीय कार्यालय रहेको ग्लोबल ओरियन्स नेपालको देशभर २५ वटा शाखा रहेको छ । सामाजिक गतिविधिमा समेत सक्रिय रहने उद्वेश्यले रक्तदान कार्यक्रम गर्न रक्तदाता समाजसँग जोडिएको इन्चार्ज दिपक शाहले बताए ।
तिलोत्तमाको जानकीनगरमा रहेको शाखाले स्वास्थ्य, समृद्धि र खुशीका लागि स्वास्थ्य सामग्रीहरु बजारमा लिएर आएको इन्चार्ज शाहले बताए । धेरैजसो प्रथम पटक रक्तदान गरिरहेका रक्तदाता र २५ जना भन्दा बढी महिलाले रक्तदान गरेको उक्त कार्यक्रम रक्त सञ्चार सेवा इकाई भैरहवाको प्राविधिक सहयोग र तिलोत्तमा शाखाका आजीवन सदस्य विष्णु भण्डारीको संयोजनमा सम्पन्न भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष कल्याण पौडेलले बिरामीलाई आवश्यक रगत स्वयंसेवी रक्तदाताले दिँदै आएको र रगतमा लाग्ने व्यवस्थापन शुल्क स्थानीय सरकारले व्यहोर्ने कार्यको थालनी भइसकेको जिकिर गर्दै हरेक स्वस्थ युवाले नियमित रक्तदान गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
तिलोत्तमा शाखाका सल्लाहकार टेकबहादुर थापाले विभिन्न जिल्लाबाट ग्लोबल ओरियन्स नेपालमा आवद्ध रहेका प्रशिक्षार्थीहरुको सहभागीताले नेपाल स्वयंसेवी रक्तदाता समाजको पहुँच थप अन्य जिल्लामा पुर्याउन मद्दत पुग्ने बताउनुभयो ।
तिलोत्तमा शाखा स्थापनाको २५ महिनामा यो २५ ओैँ मासिक रक्तदानको श्रृङ्खला सम्पन्न गरेको शाखाका उपाध्यक्ष अञ्जु पौडेलले बताइन् । कार्यक्रम तिलोत्तमा शाखाका वरिष्ठ उपाध्यक्ष पुर्णचन्द्र सुवेदीको स्वागत तथा महासचिव सागर पाठकको सञ्चालनमा सम्पन्न भएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)