काठमाडाैँ,मंसिर १६-
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा सचिवालय बैठकको समाचार संकलन गर्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका पत्रकारले भित्र प्रवेश बहिष्कार गरेका छन् ।
नेकपाभित्र विवाद चर्किंदै गएका बेला बालुवाटारमा पत्रकारलाई अपमान गर्न थालिएपछि बहिष्कार गरिएको पत्रकारहरूले जनाएका छन् । शुरूमा भित्र प्रवेश गर्न नदिएर अपमान गरिएपछि ढिला बोलाउँदा पनि नगएर बहिष्कार गरिएको छ ।
मंगलवार दिउँसो पत्रकारहरू बालुवाटार बाहिर सडकमा धुलोधुवा खाएर बैठकको निर्णयको प्रतिक्षामा रहेका छन् । बालुवाटारस्थित प्रधानमन्त्री निवासको गेटबाहिर चियापानी खाने विकल्प समेत नरहेको पत्रकार कृष्ण गिरीले जानकारी दिए ।
विभिन्न सञ्चारमाध्यमका पत्रकारहरू नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठको पर्खाइमा सडक छेउमै बसिरहेका छन् । नेकपा बैठक कतिबेला सकिने भन्नेबारे कुनै यकिन छैन ।
नेकपामा विवाद देखिनुअघि सहजै रूपमा बालुवाटारभित्र जान दिने गरिएको थियो । विवादका समाचार आउन थालेपछि बालुवाटारमा पत्रकारलाई अपमान गर्न थालिएको पत्रकार गिरीले बताएका छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)