मकवानपुर,पुस २९ ।
मकवानपुरको मनहरिमा गएराति स्कुटर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरि गाउँपालिका–८ सिमपानीका ३२ वर्षीय धर्मराज मोक्तान, ३० वर्षीय मिलन मोक्तान र राक्सिराङ गाउँपालिका–३ लावतीका ३२ वर्षीय रुपेश तामाङ रहेका छन् ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत मनहरि गाउँपालिका–९ ज्यामिरे भलादमीचोकमा ना३९प १४३९ नंको स्कुटर दुर्घटना हुँदा तीनै जनाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो ।
दुर्घटनामा गम्भीर घाइते उनीहरूको चितवनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनाका बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक कार्कीले बताउनुभयो ।
यसैगरी नवलपरासी बर्दघाट सुस्तपश्चिमको सुनवलमा आज बिहान ट्रक र पिकअप गाडी एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । अर्का एक गम्भीर घाइते भएका छन् ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनवल नगरपालिका–४ स्थित अल्कत्रेडाँडामा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना४च ९६३१ नंको पिकअप र विपरीत दिशाबाट आउँदै गरेको ना५ख ९७१५ नंको कोइला बोकेको ट्रक एकापसमा ठक्कर खाँदा उक्त दुर्घटना भएको हो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)