बुटवल,असोज १६ ।
गुल्मीको इस्मा गाउँपालिकामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । शनिबार इस्मा गाउँपालिका वडा नम्बर ३ दर्लामचौर र द भिस्क्टोरियस युवा क्लव, दर्लामचौरको आयोजना तथा विभिन्न संघ–संस्थाको सहयोगमा दर्लामचौरमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
‘रक्तदान गरौँ, जीवनदान दिऔँ’ भन्ने नाराका साथ विजयादशमीको अवसरमा भएको साे कार्यक्रममा ४० युनिट रगत संकलन गरिएको नियमित रक्तदाता संघ, रुपन्देहीका उपाध्यक्ष लेखनाथ भण्डारीले जानकारी दिए ।
भण्डारीले बुटबलमा रहेका इस्माली नागरिकलाई निःशुल्क रगत उपलब्ध गराउनेतर्फ पालिकाको ध्यानाकर्षण गराए । इस्मा गाउँपालिकाका अध्यक्ष भगत खड्का, उपाध्यक्ष पार्वती कुँवर, समाजेवी बिमल घिमिरे लगायत स्थानीयले रगत दिएका थिए ।
कार्यक्रममा नेपाल नियमित रक्तदाता संघ, रुपन्देही, उज्यालो बहुउदेश्यीय सहकारी संस्था, गुल्मी, जिसी ब्रदर्श कन्स्ट्रक्सन प्रालि, छल्दी स्पोर्ट क्लव, रक्तसञ्चार सेवा केन्द्र, दर्लामचौर उप–शाखाको नेपाल रेडक्रस सोसाइटी, इस्मा तेक्वान्दो दोजाङ, ग्यालेक्सी कृषी तथा पशुपक्षीं फर्म र इस्मा रजस्थल प्रगतिशिल युवा क्लवको सहयोग रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि इस्मा गाउँपालिका अध्यक्ष खड्काले गाउँमै रक्तदानसम्बन्धि चेतनामुलक ढंगले रक्तदान कार्यक्रमको आयोजना गरेकोले सहयोगी संस्थाहरुलाई धन्यवाद् दिए । उपाध्यक्ष पार्वती कुँवरले रक्तदानको कुनै मुल्य नहुने भएकोले गाउँमै रक्तदान कार्यक्रम संचालन गर्नु आफैमा चुनौतिपूर्ण रहेको बताइन् ।
वडाध्यक्ष ज्योतिराज कुँवरले रक्तदान कार्यक्रमले अधिकाशंमा रगत दिए कमजोरी भइन्छ भन्ने सोच हटेको बताए । उनले कार्यक्रममा सहजिकरण गर्ने विभिन्न संघ–संस्थालाई धन्यवाद दिए ।
रक्तदान कार्यक्रमका अभियान्ता भरत जंग क्षेत्रीले अस्पतालमा रगत अभावका कारण कुनै बिरामीले ज्यान गुमाउन नपरोस् भन्ने उदेश्यले लुम्बिनी प्रदेशका विभिन्न पालिकाहरुमा रक्तदान कार्यक्रमको अयोजना गरिएको बताए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)