नवलपुर,भदौ २९ ।
नवलपुरको गैंडाकोटमा यात्रु बस र ट्रक आपसमा ठक्कर खाँदा तीन जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् ।
गैंडाकोट -१० स्थित २३ स्मृति पुल नजिकै सुदूरपश्चिम प्रदेश ०२–००१ ख ११२३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ७१२६ नम्बरको ट्रक मंगलबार बिहान चार बजेतिर ठोक्किएका हुन् ।
बस सडकदेखि १० फिट तल खस्दा दुई जना महिला र एकजना पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी दिलिप कुमार गिरीले जानकारी दिए ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचारको क्रममा मृत्यु भएको हो ।
प्रहरीका अनुसार दुर्घटनामा २४ जना घाइते भएका छन् । घाइतेहरुको नयाँ मेडिकल कलेज भरतपुरमै उपचार भैरहेको छ । मृतकहरुको परिचय भने खुलेको छैन ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)