बुटवल,असार ११-
तिलोत्तमा ११ रामनगरमा रहेको दुर्गा मन्दिर परिसरमा शुक्रबार आकस्मिक रक्तदान भएको छ । कोभिड १९ को महामारीका कारण रगत तथा रक्ततत्व अभाव हुन नदिने उद्धेश्यले आयोजित उक्त कार्यक्रममा ५१ जना स्वयंसेवी रक्तदाताले रक्तदान गरेका छन् ।
नेपाल स्वयंसेवी रक्तदाता समाज तिलोत्तमाको आयोजना एवं लुम्बिनी सामाजिक संस्था तिलोत्तमा ८ को सह-आयोजनामा भएको हाे ।
कार्यक्रमका प्रमुख अतिथि तिलोत्तमा नगरपालिका वडा नं ११ का वडा अध्यक्ष मुक्तिनारायण चौधरीले बोल्दै यस संस्थाले यसरी विभिन्न क्षेत्रमा रक्तदान कार्यक्रमको आयोजना गरेर नयाँ रक्तदाताको खोजी गरिरहेको प्रति प्रशंसा गर्नुभयो ।
त्यस्तै नेपाल स्वयंसेवी रक्तदाता समाज जिल्ला शाखाका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले रगत अभाव हुन नदिन आफ्नो संस्था निरन्तर लागिरहेको बताउनुभयो । रगत नपाए बुटवल जानू भन्ने नाराका साथ जिल्ला शाखा अन्य जिल्लाहरुमा समेत पुगेर रक्तदान कार्यक्रम गरिरहेको र तिलोत्तमा शाखाले पनि आफ्नो नगरका विभिन्न वडामा रक्तदान सम्बन्धि जनचेतना फैलाउँदै अघि बढिरहेको बताउनु भयो ।
कार्यक्रममा सल्लाहकार टेकबहादुर थापा, देवी वाग्ले, बेलप्रसाद शर्मा, अर्जुनप्रसाद पौडेल, तोयश्वर चौधरी लगायतले शुभकामना दिनुभएको थियो ।
रक्त सञ्चार सेवा इकाई भैरहवाको प्राविधिक सहयोगमा स्वास्थ्य मापदण्ड पालना गर्दै कार्यक्रम गरिएको हो । रक्तदाता समाजको तिलोत्तमा नगर शाखा गठन पछि नियमित मासिक रक्तदान श्रृङ्खला सन्चालन गर्ने कार्यक्रम अन्तर्गत आकस्मिक रुपमा दोस्रो कार्यक्रम सम्पन्न गरिएको समाजका अध्यक्ष गोविन्द भुसालले बताउनुभयो ।
कार्यक्रम समाजका उपाध्यक्ष पुर्णचन्द्र सुवेदीको संयोजकत्व एवम् सचिव प्रेमबहादुर नेपालीको सञ्चालनमा सम्पन्न भएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)