बुटवल,जेठ २४ ।
रूपन्देहीको तिलोत्तमा नगरपालिका पूर्ण खोप एवं पूर्ण संस्थागत प्रसूति सेवायुक्त नगरपालिका सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ।
नगरपालिकाभित्र रहेका सबै लक्षित बालबालिकाले नियमित खोप सेवा प्राप्त गरेको तथा गर्भवती महिलाले स्वास्थ्य संस्थामै सुरक्षित प्रसूति सेवा लिन सफल भएको सुनिश्चित भएपछि विशेष समारोहका बिच घोषणा गरिएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख रामकृष्ण खाणले घरमै हुने असुरक्षित प्रसूति अभ्यासलाई न्यूनीकरण गर्दै गर्भवती महिलालाई स्वास्थ्य संस्थामार्फत सुरक्षित प्रसूति सेवामा पहुँच पुर्याउन नगरपालिका सफल भएको बताउनुभएको थियो।
संस्थागत प्रसूतिलाई प्राथमिकता दिँदै उहाँले पालिकामा स्वास्थ्य सेवाको पहुँच विस्तार, जनचेतनामूलक कार्यक्रम सञ्चालन तथा स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकाको सक्रिय परिचालनका कारण यो उपलब्धि हासिल भएको उहाँको भनाइ थियो।
त्यस्तै नगर उपप्रमुख जगेश्वर देवी चौधरीले सुरक्षित मातृत्व, नवजात शिशुको स्वास्थ्य संरक्षण तथा बालबालिकाको नियमित खोप सुनिश्चित गर्न स्थानीय तहको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै प्राप्त उपलब्धिलाई दिगो बनाउँदै आगामी दिनमा स्वास्थ्य सेवाको गुणस्तर अझ सुदृढ बनाउनुपर्नेमा जोड दिनुभएको थियो।
उहाँले पूर्ण खोप र संस्थागत प्रसूति केवल स्वास्थ्य सूचकको सुधार मात्र नभई समग्र समुदायको जीवनस्तर उकास्ने अभियान भएको जानकारी दिनुभयो।
प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चपाईंले नगरपालिकालाई पूर्ण खोप एवं पूर्ण संस्थागत प्रसूति सेवायुक्त नगरपालिका सुनिश्चितता तथा दिगोपना घोषणा प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो।
प्रमाणपत्र ग्रहण गर्दै नगर प्रमुख रामकृष्ण खाणले स्वास्थ्य क्षेत्रको सुधारका लागि नगरपालिका निरन्तर प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले जनप्रतिनिधि, स्वास्थ्यकर्मी, स्वयंसेविका तथा नागरिकको सामूहिक प्रयासबाट यो सफलता सम्भव भएको उल्लेख गर्नुभयो।
प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले पूर्ण खोप तथा पूर्ण संस्थागत प्रसूति सेवायुक्त नगरपालिका घोषणा हुनु नगरपालिकाका लागि गौरवको विषय भएको बताउनुभयो।
उहाँले स्वास्थ्य क्षेत्रको सुधारका लागि नगरपालिकाले नीतिगत, प्रशासनिक तथा व्यवस्थापकीय रूपमा निरन्तर सहयोग गर्दै आएको उल्लेख गर्नुभयो। उहाँले मातृ तथा शिशु स्वास्थ्यको संरक्षण स्थानीय सरकारको महत्त्वपूर्ण दायित्व रहेको भन्दै स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि तथा समुदायको साझा प्रयासबाट यो उपलब्धि हासिल भएको बताउनुभयो।
प्राप्त उपलब्धिलाई कायम राख्दै आगामी दिनमा स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि, नियमित अनुगमन तथा जनचेतनामूलक कार्यक्रमलाई थप प्रभावकारी बनाइने उहाँले स्पष्ट पार्नुभयो।
तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखा प्रमुख ज्ञानप्रसाद पौडेलले पूर्ण खोप एवं पूर्ण संस्थागत प्रसूति सेवायुक्त नगरपालिका सुनिश्चितता तथा दिगोपना गराउनमा मिहिनेतका साथ कार्य गरी सहयोग गर्ने सम्पूर्ण कर्मचारीलाई धन्यवाद दिँदै बालमृत्युदर न्युनता एवं स्वास्थ्य सेवा थप सहज गराउने कार्यमा जोड दिनुभयो।
पूर्ण खोप एवं पूर्ण संस्थागत प्रसूति सेवायुक्त नगरपालिका सुनिश्चितता तथा दिगोपनाको कार्यपत्र स्वास्थ्य शाखाकि नर्सिङ अधिकृत लक्ष्मी घिमिरे आचार्यले प्रस्तुत गर्नुभएको थियो । घोषणा समारोहका अवसरमा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने स्वास्थ्य संस्थाका इन्चार्जलाई सम्मान गरिएको रामप्रसाद ढकालले बताउनुभयो ।
त्यसैगरी सुरक्षित मातृत्व कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने फोकल पर्सनहरूलाई समेत सम्मानपत्र प्रदान गरिएको थियो।
सम्मानित व्यक्तिहरूको योगदानले मातृ तथा शिशु स्वास्थ्य सुधारमा उल्लेखनीय भूमिका खेलेको भन्दै कार्यक्रमका वक्ताहरूले प्रशंसा गरेका थिए । पूर्ण खोप तथा पूर्ण संस्थागत प्रसूति सेवायुक्त नगरपालिका घोषणा भएसँगै तिलोत्तमा नगरपालिकाले स्वास्थ्य क्षेत्रको महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ। यस उपलब्धिलाई दिगो बनाउँदै आगामी दिनमा मातृ तथा शिशु मृत्युदर न्यूनीकरण, गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह तथा स्वस्थ नगर निर्माणका अभियानलाई अझ प्रभावकारी बनाइने नगरपालिकाले जनाएको छ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)