बुटवल,जेठ २३ ।
लोक सांस्कृतिक नृत्यहरूको महामेला बुटवलमा सम्पन्न भएको छ । महामेलाको बुटवल उपमहानगर प्रमुख खेलराज पाण्डेयले उद्घाटन गरेका थिए ।
नृत्य निर्देशक संघ नेपाल, रूपन्देही जिल्ला समितिको आयोजनामा तथा बुटवल उपमहानगरपालिकाको सहकार्यमा शुक्रबार बुटवलको देवसिद्धचोकस्थित थ्री पोइन्ट गार्डेन प्रालिमा कार्यक्रम भएको हो ।

आयोजक संस्थाका अध्यक्ष सुन्दर गुरुङले लुम्बिनी प्रदेशका ६ जिल्लासहित प्रदेश बाहिरका ४ जिल्लाका सांस्कृतिक तथा लोकनृत्य समूहहरूको सहभागिता रहेको बताए । उनका अनुसार देशका विभिन्न क्षेत्रका लोकनृत्यहरूलाई एउटै मञ्चमा प्रस्तुत गर्दै सांस्कृतिक आदान–प्रदान, आपसी सद्भाव र राष्ट्रिय एकतालाई थप मजबुत बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
महामेलामा पूर्वी नेपालको साकेला नृत्य, राजधानी क्षेत्रको नेवारी नृत्य, पौराणिक ताण्डव नृत्य, मध्य पहाडी क्षेत्रका कौडा र घाँटु नृत्य, तराईको थारू नृत्य तथा पश्चिम नेपालको हुड्के लोक नृत्यलगायत विविध सांस्कृतिक प्रस्तुति समावेश गरिएको नृत्य निर्देशक संघ नेपाल, लुम्बिनी प्रदेशका अध्यक्ष लोकेन्द्र शाहले जानकारी दिए ।
यसका अतिरिक्त बुटवल क्षेत्रका विभिन्न जातीय समुदायका लोकनृत्य तथा केही विद्यालयका सांस्कृतिक समूहहरूको पनि सहभागिता थियाे । कार्यक्रममा बिभिन्न क्षेत्रबाट योगदान दिनेहरुलाई समेत सम्मान गरिएको थियो।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)