Logo मंगलवार, श्रावण १२ गते २०८३
images

वेस्टर्न मेगा कलेजमा सचेतनामूलक अन्तरक्रिया

वेस्टर्न मेगा कलेजमा सचेतनामूलक अन्तरक्रिया

  • 966
    SHARES

  • वेस्टर्न मेगा कलेजमा सचेतनामूलक अन्तरक्रिया

    बुटवल,जेठ २० ।

    बुटवल-१५ स्थित वेस्टर्न मेगा कलेजमा एकदिने सचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कलेजमा अध्ययनरत व्यवसाय व्यवस्थापन स्नातक तहका विद्यार्थी, कलेजका शिक्षक-कर्मचारी तथा आरम्भ रिसोर्टमा कार्यरत कर्मचारीहरूको सहभागितामा कार्यक्रम आयोजना गरिएको हो ।

    महिनावारी स्वास्थ्य, सरसफाइ तथा सचेतना विषयक कार्यक्रममा लुम्बिनी प्रादेशिक अस्पतालकी वरिष्ठ नर्सिङ निरीक्षक माधुरी ज्ञवालीले सहजीकरण तथा प्रशिक्षण दिएकी थिइन् । उनले महिलामा देखिने विभिन्न स्त्रीरोग, महिनावारीका समयमा हुने स्वास्थ्य समस्या, उपचार विधि, सरसफाइका उपाय तथा रोकथामका विषयमा जानकारी गराएकी थिइन् ।

    अन्तरक्रियाका क्रममा सहभागीहरूले महिनावारीसँग सम्बन्धित विभिन्न जिज्ञासा राख्दै छलफल गरेका थिए । महिनावारी प्राकृतिक प्रक्रिया भए पनि पर्याप्त जानकारीको अभावका कारण धेरै महिला तथा किशोरीहरूले मानसिक र शारीरिक समस्या झेल्नुपर्ने अवस्था रहेको विषयमा कार्यक्रममा विशेष जोड दिइएको थियो ।

    कलेजका प्राचार्य अधिवक्ता किसु शर्माले महिनावारी स्वास्थ्यसम्बन्धी सही जानकारीको अभावले विभिन्न समस्या सिर्जना हुने भएकाले विद्यार्थी तथा कर्मचारीलाई सचेत बनाउन कार्यक्रम आयोजना गरिएको बताए । यस्ता कार्यक्रमले स्वास्थ्यसम्बन्धी भ्रम हटाउन र आवश्यक जानकारी प्रदान गर्न सहयोग पुग्ने उनको भनाइ थियो ।

    कार्यक्रममा कलेजका शिक्षक-कर्मचारी तथा व्यवसाय व्यवस्थापन स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रमको संयोजन एलिजा बज्राचार्य तथा अतिरिक्त क्रियाकलाप प्रमुख प्रकाश खाम्चाले गरेका थिए भने सञ्चालन छात्रा समिता जीसीले गरेकी थिइन् ।

    कलेजले स्नातक तहमा चार वर्षे सूचना प्रविधि स्नातक र व्यवसाय व्यवस्थापन स्नातक तथा स्नातकोत्तर तहमा दुई वर्षे व्यवसाय प्रशासन स्नातकोत्तर कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ । साथै शैक्षिक सत्र २०८३ का लागि भर्ना खुला भएको जानकारी समेत दिएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology