बुटवल, चैत्र ।
तिलोत्तमा नगर भित्र रहेका शैक्षिक संस्थाका प्रमुख र सवारी चालकहरूलाई ट्राफिक सचेतना सम्बन्धमा प्रशिक्षण प्रदान गरिएको छ ।
सुरक्षित यात्रा नेपालको आयोजनामा विद्यालय सञ्चालक सहित सवारीचालकहरुलाई ट्राफिक सचेतना अभिवृद्वि तथा दुर्घटना न्युनिकरणका लागि एकदिने प्रशिक्षण गरिएको सुरक्षित यात्रा नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बेलबासेले जानकारी दिनुभयो ।
तिलोत्तमामा शनिबार आयोजना गरिएको प्रशिक्षणमा नेपाल ट्राफिक प्रहरीका बरिष्ठ नायव निरिक्षक ज्ञानु पाण्डेले सहजीकरण गर्नुभएको थियो। सहजीकरण गर्दै उहाँले सवारीको द्रुत गति, मादकपदार्थ सेवन, ट्राफिक नियमको पूर्ण पालना नगर्ने, चालकको लापरवाही, सिट क्षमता भन्दा बढी यात्रु बोक्ने जस्ता कार्यले दुर्घटना निम्त्याउने भएकाले यस विषयमा चालकहरू सावधान हुनुपर्ने बताउनुभयो ।
विद्यार्थी बोक्ने सवारी सम्बन्धमा बनेको निर्देशिका सबै विद्यालयले पालना गर्नुपर्ने कुरामा पाण्डेले जोड दिनुभएको छ । प्रशिक्षणमा सवारीको बत्तीको प्रयोग, सवारी ओभरटेक, सवारी लेनको प्रयोग, ब्रेकिङ डिस्ट्यास, गाडिको गति नियन्त्रण, सवारी प्राथमिकता, ट्राफिक चिन्ह का जानकारी, कानुनी व्यवस्था, दुर्घटना पश्चात सचेत नागरिकको भूमिका विषयमा सहजिकरण र छलफल गरिएको थियो।
प्रशिक्षणमा करिब २ सय जना विद्यालय सवारी चालकहरूको सहभागिता रहेको प्रशिक्षण कार्यक्रम संयोजक दीपक ढकालले जानकारी दिनुभयो। कार्यक्रममा सहभागी चालकहरुले सडकका अवस्थाले पनि दुर्घटना निम्त्याउने जोखिम औल्याएका थिए। मणिग्राम चोक क्षेत्रमा सवारी दुर्घटना जोखिम रहेको औल्याएका थिए।
मणिग्राम चोक क्षेत्रमा सडकको अवस्थितिका कारण सवारी चलाउन अप्ठेरो रहेको गुनासो व्यक्त गर्दै चालकहरुले यसको समाधानको लागि सम्बन्धित निकायले ध्यान दिन जरुरी रहेको बताए ।
यसबाहेक सवारीको अवस्था, छाडाचौपाया र रिक्सा लगायत साना सवारीहरूले दुर्घटनाको जोखिम निम्त्याएको कुराप्रति पनि सरोकारवालाहरुले ध्यान दिन जरूरी रहेको कार्यक्रमका सहभागीहरूले जोड दिएका थिए।
सोअवसरमा नेपाल ट्राफिक प्रहरी तथा राजमार्ग सुरक्षा व्यवस्था कार्यालय लुम्बिनी प्रदेश बुटवलका प्रमुख प्रहरी उपरिक्षक मित्रबन्धु शर्मा, नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकाल, तिलोत्तमा नगरपालिकाका जनप्रतिनिधि रमेश डुम्रे लगायतले बोल्नुभएको थियो ।
कार्यक्रम तिलोत्तमा नगर कार्यपालिकाको सहकार्य तथा नेपाल ट्राफिक प्रहरी तथा राजमार्ग सुरक्षा व्यवस्था कार्यालय लुम्बिनी प्रदेश कार्यालय बुटवलको समन्वयमा सम्पन्न भएको थियो। कार्यक्रम नेपाल प्रहरीका प्रहरी निरिक्षक प्रतिमा कार्कीले सञ्चालन गर्नुभएको थियो।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)