बुटवल,चैत ६ ।
बुटवल–८ सुख्खानगरमा रहेको इन्द्रेणी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्ना शेयर सदस्यहरुकालागि एक दिने आधारभुत सहकारी शिक्षा तालिम दिएको छ । इन्द्रेणीले आफ्नो ३१ औं स्थापना दिवस तथा ६९औं सहकारी दिवसको अवसर पारेर शुक्रबार आफ्ना शेयर सदस्यको क्षमता विकासकालागि सहकारी शिक्षा तालिम दिएको हो ।
संस्थाका अध्यक्ष कृष्णप्रसाद अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा सहजिकरण गर्दै जिल्ला सहकारी संघका महासचिव दामोदर पंगेनीले सहकारीको सिद्धान्त, ब्यवस्थापन, ऐन, नियम र संचालन सम्बन्धि विषयमा सहजिकरण गर्नु भएको थियो । तालिमका प्रशिक्षक समेत रहेका महासचिव पंगेनीले सिद्धान्त विपरित सहकारीलाई संचालन गर्दा र गैर सदस्यहरुलाई ऋण लगानी गर्दा जोखिमको सम्भावना बढ्ने भएकाले सिद्धान्तभन्दा बाहिर गएर सहकारीलाई संचालन गर्न नहुने सुझाव दिनु भयो । उहाँले सहकारीका सिद्धान्त, नीति, नियम र संचालनका उपायका बारेमा आफ्ना धारणा राख्नु भएको थियो ।
कार्यक्रममा इन्द्रेणीका निवर्तमान अध्यक्ष धुर्वकुमार धितालले सहकारीलाई शेयर सदस्यले सिद्धान्त भित्र रहेर असल आचरणका साथमा संचालन गरेमा कुनै पनि जोखिम नहुने बताउनुभयो ।
संस्थाका उपाध्यक्ष माया गौतमको स्वागत तथा सचिव नरबहादुर रजालीको संचालनमा भएको कार्यक्रममा संस्थाका झण्डै तीन दर्जन शेयर सदस्यहरुको सहभागिता रहेको थियो ।
दुई हजार एकसय शेयर सदस्यहरु रहेको इन्द्रेणीको ऋण लगानी ३५ करोड ९४ लाख ६२ हजार र कुल सम्पत्ती ६१ करोड ५७ लाख ४१ हजार रहेको कोषाध्यक्ष कृष्ण अर्यालले जानकारी दिनुभयो । इन्द्रेणीले सहकारी शिक्षा कार्यक्रमसँगै विभिन्न रचनात्मक कार्यक्रम गरेर आफ्नो स्थापना दिवस मनाउने कार्यकारी प्रमुख लेखनाथ पौडेलले बताउनुभयो । स्थापना दिवसका अवसरमा विभिन्न संघसंस्थालाई सहयोग, तालिम गोष्ठि र रक्तदान कार्यक्रम आयोजना गरिएको उहाँले जानकारी दिनुभयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)