Logo बिहिवार, आश्विन १ गते २०८३
images

नवीन औद्योगिक कदर बहादुर रीता माविले मनायो स्वर्ण महोत्सव

नवीन औद्योगिक कदर बहादुर रीता माविले मनायो स्वर्ण महोत्सव

  • 1.8K
    SHARES

  • नवीन औद्योगिक कदर बहादुर रीता माविले मनायो स्वर्ण महोत्सव

    बुटवल, पुस २२ ।

    देशकै अब्बल तथा उत्कृष्ट सामुदायिक विद्यालयको रूपमा चिनिएको नवीन औद्योगिक कदरबहादुर रीता माविले स्थापनाको ५० वर्ष पूरा गर्दै स्वर्ण महोत्सव मनाएको छ ।

    वि.सं २०३३ सालमा स्थापना भएको विद्यालयले अर्धशताब्दी प्रवेशसँगै विविध शैक्षिक, खेलकुद तथा सांस्कृतिक कार्यक्रमसहित स्वर्ण महोत्सव मनाएको हो ।

    मंगलबार आयोजना गरीएको मूल समारोहको बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले उद्घाटन गरे । सोही अबसरमा बोल्दै उनले शिक्षा र स्वास्थ्य क्षेत्रमा आम नागरिकको सहज पहुँच हुनुपर्ने बताए । विद्यार्थीलाई सैद्धान्तिक तथा सीपमूलक शिक्षा दिनु अहिलेको अपरिहार्य आवश्यकता भएको बताउँदै उनले विद्यार्थीलाई शैक्षिक प्रमाणपत्र दिँदै गर्दा प्राविधिक सीप सहितको प्रमाणपत्र पनि सँगसँगै दिनुपर्नेमा जोड दिएका थिए ।IMG_2882.jpeg
    बुटवलले शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, खेलकुद र रोजगारीलाई मुख्य प्राथमिकतामा राखेर काम गरीरहेको नगर प्रमुख पाण्डेयले बताए । ‘अहिले बुटवलले शिक्षा र स्वास्थ्यमा एक खालको फड्को मारेको छ, सरकारी विद्यालयहरुमा देशभरिकै नमुना विद्यालयका रुपमा बुटवलले स्थापित गरेको छ ।’, नगर प्रमुख पाण्डेयले भने, ‘यहाँका सबै विद्यालयहरुलाई कम्प्युटर, आईटीसँग जोडेर प्रविधियुक्त विद्यालय र दक्ष जनशक्ति उत्पादन गर्ने अभियान सुरु भएको छ ।’

    शैक्षिक क्षेत्रमा नवीन औद्योगिक माविको भुमिका महत्वपूर्ण रहेको बताउँदै उनले देशका ५८ जिल्लाका विद्यार्थीहरु अध्ययन गर्ने अब्बल सामुदायिक विद्यालयको रुपमा पहिचान बनाउन  सकेकोमा बधाई ज्ञापन गरे । सोही अबसरमा उनले स्वर्ण महोत्सव दर्पण विमोचन तथा स्वर्ण महोत्सव स्तम्भ–२०८२ अनावरण समेत गरेका थिए ।IMG_2893.jpeg
    त्यस्तै नगर उपप्रमुख सावित्रादेवि अर्यालले सामुदायिक विद्यालयले पनि गुणस्तरीय  शिक्षा प्रदान गर्दै उत्कृष्ट नतिजाका साथ देशकै नमुना विद्यालय बन्न सक्छन् भन्ने गर्विलो उदाहरण नवीन औद्योगिक माविले प्रस्तुत गर्न सफल भएको बताइन् ।

    विद्यालय तहको शिक्षाको अभिभावक स्थानीय सरकार भएकोले बुटवल भित्रका विद्यालयहरुको शैक्षिक र भौतिक उन्नतिको लागि उपमहानगरपालिका दिर्घकालिन योजनाका साथ अघि बढेको उनले बताईन । बुटवल–११ का वडाध्यक्ष रामचन्द्र क्षेत्रीले विद्यालयले शिक्षाको गुणस्तरमा ब्यापक सुधार गर्दै हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउँदा नवीनमा धेरै विद्यार्थी र अभिभावकको दृढ विश्वास बढ्दै गएको बताए । 
    कार्यक्रममा विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बस्नेतले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै आगामी रणनितिक योजनाहरुबारे जानकारी गराए ।

    विद्यालयमा व्यवस्थापन समिति गठन हुन नसक्दा कार्यसम्पादनमा समस्या भएको उनको भनाई थियो । सामुदायिक विद्यालयको गुणस्तर बढाउन राज्यले थप लगानी गर्नुपर्नेमा जोड दिदै उनले विद्यार्थी, शिक्षक र अभिभावक सबैको लगनशिलता र मिहेनतका कारण विद्यालयले यो सफलता पाएको बताए । अध्ययन सँगसँगै खेलकुद र विद्यार्थीको नेतृत्व विकास तथा व्यक्तित्व निर्माणमा समेत विद्यालयले जोड दिँदै आएको प्रधानाध्यापक बस्नेतले बताए । 
    पूर्ण अंग्रेजी माध्यममा पठनपाठन हुँदै आएको यस विद्यालयमा ५८ जिल्लाका ५ हजार बढी विद्यार्थी र १८४ जना शिक्षक कर्मचारी रहेका छन् । विद्यालयका प्रधानाध्यापक बस्नेतका अनुसार विद्यालयमा ४१ जना शिक्षकको मात्रै स्थायी दरबन्दी रहेको छ । विद्यार्थी संख्याको आधारमा देशकै पाँचौँ नम्बरमा रहेको यस विद्यालयले उत्कृष्ट नतिजासहित विभिन्न अवार्ड र पुरस्कार प्राप्त गरिसकेको छ ।

    कक्षा ११-१२ मा व्यवस्थापन, सिभिल इन्जिनिरिङ, विज्ञान, होटल म्यानेजमेन्ट, कानुन र शिक्षा समूह अध्यापन हुँदै आएको विद्यालयले डिजिटल माध्यमलाई प्राथकिकता दिएको प्रधानाध्यापक बस्नेतले बताए । 
    विद्यालयमा राष्ट्रिय सेवा दलअन्तर्गत सिनियर डिभिजन २०औँ क्याडेट सञ्चालनमा रहेको छ, जसमा १५ छात्र र १५ छात्रा सहभागी छन् ।

    शैक्षिक असल अभ्यासतर्फ आ.व. २०८१-०८२ मा सातै प्रदेशका ४२ विद्यालयमध्ये नेपाल द्वितीय स्थान हासिल गर्दै विद्यालयले अस्ट्रेलियाको राजधानी क्यानबेरामा २३ अक्टोबर २०२४ मा ‘बेष्ट प्रिन्सिपल अवार्ड’ प्राप्त गरेको विद्यालयका सहायक प्रधानाध्यापक अर्जुन खनालले बताए । यस विद्यालयमा अध्ययन गरेका विद्यार्थीले एसइई, कक्षा १२ मा ४ जीपिए तथा एमबीबिएस र इन्जिनियरमासमेत पूर्ण छात्रवृतिमा नाम निकाल्न सफल भएको उनले बताए । 
    विद्यालयले विद्यार्थीको नेतृत्व विकास र व्यक्तित्व निर्माणमा विशेष जोड दिँदै आएको छ । अन्तर्राष्ट्रिय मापदण्डअनुसार विद्यार्थीबाट उद्घोषण, फिल्ड भिजिट तथा प्रयोगात्मक अभ्यासका अनुभव अंग्रेजी भाषामा प्रस्तुत गराउने लगायतका अभ्यास गरिएको उनले बताए ।

    कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीका प्रमुख विष्णुप्रसाद पन्थी, सामाजिक डिभिजन कार्यालय रुपन्देहीका प्रमुख हरिबहादुर बिष्ट, प्राध्यापक आनन्दमान सिंह शाक्य, नेकपा एमाले बुटवलका अध्यक्ष शोभाखर पोखरेल, नेपाली कांग्रेस बुटवलका उपाध्यक्ष ज्योती भण्डारी, नेपाली कम्युनिस्ट पार्टिका कार्यदल सदस्य तथा विद्यालयका अभिभावक महेन्द्र भुसाल लगायतले आआफ्नो भनाई राख्दै विद्यालयले विद्यार्थीलाई शिक्षा, अनुशासन, सामाजिक मूल्यमान्यता र देशभक्तिको ज्ञान दिई असल नागरिक बन्न सिकाउनुपर्नेमा जोड दिए । 

    कार्यक्रममा राष्ट्रिय सेवा दल, स्काउट र अन्य विद्यार्थीहरुले मार्चपास, पिटि प्रदर्शन, विविध संस्कृती झल्कीने नृत्य, नाटक प्रस्तुत गरेका थिए । सोही अबसरमा एसइई, कक्षा १२ तथा अन्य कक्षामा उत्कृट नतिजा ल्याउन सफल बिद्यार्थीहरु, शिक्षक कर्मचारीहरुलाई सम्मान गरीएको थियो ।

    कार्यक्रम विद्यालयका सहायक प्रधानाध्यापक रोमनाथ घिमिरेलको स्वागत तथा कानुन समुह इन्चार्ज लोकप्रसाद खरेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

    ८ जना पत्रकार पुरस्कृत :

    IMG_2897.jpeg
    विद्यालयले स्वर्ण महोत्सवका अवसरमा ८ जना पत्रकारहरुलाई नगदसहित पुरस्कृत गरेको छ ।  विद्यालयका हरेक गतिविधिलाई प्रचार प्रसार गर्न महत्वपूर्ण भूमिका खेलेको भन्दै स्वर्ण महोत्सवका अवसरमा पुरस्कृत गरीएको हो ।

    पुरस्कृत हुने पत्रकारहरुमा राज्य टेलिभिजनका यमलाल भुसाल, नयाँ पत्रिकाका विष्णु घिमिरे, बुद्ध टेलिभिजनका कल्पना डुम्रे,लुम्बिनी दैनिकका प्रदिप आचार्य, दैनिक पत्रका कृष्ण रणपाल, बुटवल टुडेका माया केसी ,मेचीकाली राष्ट्रिय दैनिकका रमेश पराजुली र लुम्बिनी टेलिभिजनका नगेन्द्र कार्की रहेका छन् । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology