बुटवल, असार १७–
होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको २७औं स्थापना दिवसको अवसरमा संघले नेपाल नियमित रक्तदाता संघ केन्द्रीय समितिको सहकार्यमा बृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ।
कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष लेखनाथ भण्डारीले गर्नु भएको थियो भने प्रमुख अतिथिका रूपमा बुटवल उपमहानगरपालिका उपप्रमुख सावित्रा देवी अर्यालज्यूको उपस्थिति रहेको थियो।
विशिष्ट अतिथिमा होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका संस्थापक सचिव तथा प्रमुख सल्लाहकार माधव प्रसाद नेपाल, नेपाल नियमित रक्तदाता संघ केन्द्रीय समितिका प्रमुख सल्लाहकार तथा बुटवल उपमहानगरपालिकाका पूर्व उपमेयर बिमल बहादुर शाक्यज्यू रहेका थिए।
त्यसैगरी कार्यक्रममा होटल व्यवसायी महासंघ लुम्बिनी प्रदेश अध्यक्ष तथा संघका जिल्ला पुर्व अध्यक्ष महेन्द्र श्रेष्ठ, नेपाल नियमित रक्तदाता संघका सल्लाहकार सुरेन्द्र शाक्य, संघका उपाध्यक्ष तथा कार्यक्रमका कार्यवाहक अध्यक्ष महेश खनाल, संघका वरिष्ठ उपाध्यक्ष माधव कुमार खनाल, महासचिव अर्जुन थापा लगायत संघका पदाधिकारी तथा सदस्यहरू, रक्तदाता, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू र कार्यालय प्रमुख तथा कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा ५६ पिन्ट रगत संकलन भएको थियोे ।।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सावित्रा देवी अर्यालले बुटवलमा "रगत नपाए बुटवल जानु" भन्ने नारासहितको रक्तदान अभियानले उदाहरणीय कार्य गरिरहेको बताउँदै टोलटोलमा "एक घर, एक रक्तदाता" अभियानलाई बुटवल उपमहानगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो।
संघका अध्यक्ष लेखनाथ भण्डारीले “जन्मपछि मृत्यु अवश्यम्भावी हो, तर घमण्ड गर्नुको अर्थ छैन, खुशी नै सबैभन्दा ठूलो सम्पत्ति हो। रक्तदान गर्ने मानिसको जीवन खुशीपूर्ण हुन्छ,” भन्दै स्थापना दिवसको अवसरमा गरिएको रक्तदान कार्यक्रमलाई आगामी संस्थागत भावी कार्यको उदाहरणीय शुरुवातका रूपमा प्रस्तुत गर्नुभयो।
नेपाल नियमित रक्तदाता संघका प्रमुख सल्लाहकार बिमल बहादुर शाक्यले नेपाल रेडक्रस सोसाइटीपछि नियमित रक्तदाता संघ नै दोस्रो ठूलो संस्था भएको उल्लेख गर्दै रक्तदानका क्रममा रक्तसम्बन्धी सम्पूर्ण रोग परीक्षण गरी बिरामीसम्म सुरक्षित रगत पु-याउन संस्था प्रतिबद्ध रहेको बताउनुभयो।
कार्यक्रममा स्वागत मन्तव्य संघका वरिष्ठ उपाध्यक्ष माधव कुमार खनालले राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन महासचिव अर्जुन थापाले गर्नुभएको थियो। कार्यक्रम व्यवस्थापनको संयोजन संघका द्वितीय उपाध्यक्ष प्रेम भट्टराईले गर्नु भएको थियो।
नेपाल नियमित रक्तदाता संघका उपाध्यक्ष महेश खनालले प्रत्येक महिनाको तेस्रो शनिबार तथा विभिन्न संघसंस्थासँग समन्वय गरी टोलटोलमा रक्तदान कार्यक्रम सञ्चालन भइरहेको जानकारी गराउँदै, संस्थाबीचको सहकार्यलाई अझ सुदृढ बनाउनेमा जोड दिनुभयो।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)