बुटवल,चैत्र ४ ।
बुटवलको निलकण्ठ बाबा धाम तथा सन्तोषीमाता गुरुकुल विद्याश्रममा सञ्चालन भएको ३ महिने शिवशक्ति,११ अतिरुद्री, अचुतचण्डी, राष्ट्रकल्याण महायाग आज समापन हुँदै छ ।
राष्ट्रकल्याणको निमिक्त गत पुस १ गते एक कार्यक्रमकाबीच शुभारम्भ गरिएको महायाग ९४ औं दिनमा पूर्ण आहुती गरिन लागिएको हो ।
रामको पालामा बाहेक नेपाल भारत लगायत विश्वमा कहि कतै नभएको कठिन दुर्लभ महायागको पूर्ण आहुतीमा भक्तजनलाई भाग लिनको लागि धामका सह अध्यक्ष चुरामणी पौडेलले आग्रह गर्नुभएको छ ।
नीलकण्ठ बाबाधाम तथा सन्तोषी माता गुरूकुल विद्याश्रममा शिवशक्ति,११ अतिरूद्री,अच्युतचण्डी,राष्ट्रकल्याण महायाग नेपाल राष्ट्र लगायत विश्व कल्याणको कामना गरेर धामकी संरक्षक माता देवमाया भट्टराईको संकल्पबाट आयोजना गरिएको कठिन र विश्वमा कहि नभएको यज्ञको हिन्दु धर्मावलम्बीले एक पटक दर्शन गर्नुपर्ने यज्ञाचार्य डा राजेन्द्र रेग्मीको भनाइ छ ।
यज्ञ प्रचारप्रसार समितिका संयोजक समेत रहेका पत्रकार खेमराज रेग्मीले यस्तो शक्तिशाली यज्ञ बुटवलमा हुनु बुटवलको गौरब भएको भन्दै हिन्दु धर्मावलम्बीले यज्ञको दर्शन गर्नुपर्नेमा जोड दिनुभयो । महायागमा पुर्व राजा ज्ञानेन्द्र शाह,लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरी लगायत १ लाख ५० हजार भक्तजनहरुले दर्शन गरिसकेका छन् ।
महायागमा यज्ञआचार्य डा. राजेन्द्र रेग्मी र आचार्य हाकिम भण्डारी लगायत १ सय २१ जना ब्राह्मणबाट ३ महिना अवधिभर नै ४ बेद , पञ्चपुराणका उपासना मन्त्रजप गरिएको हो । महायाग सम्पन्न गर्न करीब ४ करोड रुपैया खर्च हुने अनुमान रहेको आर्थिक उपसमितिका संयोजक लेख बहादुर कार्कीले जानकारी दिनुभयो ।
कक्षा ६ देखि १२ कक्षासम्म पठनपाठन हुने गुरुकुलमा हाल ७५ जना छात्रहरु अध्ययन गरिरहेका छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)