बुटवल,मंसिर २६ ।
नवीन औद्योगिक कदर बहादुर रीता मावि देवीनगरमा सातौ दक्षिण एसियाली कराते प्रतियोगितामा कास्य पदक विजेता विद्यार्थीलाई मंगलवार विद्यालयमा सम्मान गरिएको छ ।
उक्त अवशरमा प्रमुख अतिथि बुटवल नगर खेलकुद विकास समितिका संयोजक बोनिन पियाले बुटवल नगर खेलकुद विकास समितिले आगामी पौष २५ गतेबाट पाँचौ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०८० संचालन गर्ने गरी तयारी गरिएको र माघमा विद्यालय स्तरीय मेयर कप फुटवल प्रतियोगिता संचालन गरी खेलाडी पहिचान, विकास र प्रोत्साहनलाई उच्च प्राथमिकताका साथ् अगाडी बढ्ने धारणा व्यक्त गर्दै विद्यालयले सबै खेल विद्यालाई समेटेर खेलको विकास गरेकोमा खुशी व्यक्त गर्नु भयो ।
विद्यालय व्यवस्थापन समितिक अध्यक्ष कृष्ण प्रसाद खरेलको अध्यक्षतामा विज्ञान समूह कक्षा ११ की छात्रा सुमिना अर्यालको संचालनमा सम्पन्न कार्यक्रममा बुटवल उपमहानगरपालिका युवा तथा खेलकुद शाखाकी सहायक निर्देशक कोपिला ज्ञवाली, शिक्षक अभिभावक संघका सदस्य राजाराम विक, खेलकुद प्रशिक्षक नवराज खरेल लगायतले धारणा राख्नु भएको थियो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतले विद्यालयले नवौ क्षेत्रीय राष्ट्रपति रनिङ्ग शिल्ड, २०७४ दशौ क्षेत्रीय राष्ट्रपति रनिङ्ग शिल्ड २०७५, बुटवल नगरस्तरीय प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड २०७६, बुटवल नगर स्तरीय दोस्रो राष्ट्रपति रनिङ्ग २०७८ र बुटवल नगरस्तरीय चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०७९ विद्यालयको व्यवस्थापनमा संचालन भएको र विद्यालयमा कराते, डब्लुटीएफ, आइटीएफ तेक्वान्डो नियमित प्रशिक्षक, स्काउट हुनुका साथै निकट भविष्यमा जुनियर एनसीसी संचालन गरिने रुपन्देही जिल्ला स्तरीय बाह्रौ र तेह्रौ राष्ट्रपति रनिङ्ग शिल्डमा रुपन्देही जिल्लालाई प्रथम बनाउन बुटवल उपमहानगरको तर्फबाट विद्यालयको योगदानका विषयमा धारणा राख्दै बुटवल नगर खेलकुद विकास समितिले बुटवलका सबै सामुदायिक विद्यालयहरुमा खेल प्रशिक्षकको व्यवस्था नभएको र एउटा विद्याको प्रशिक्षकबाट सबै खेल विद्या संचालन गर्न सम्भव नहुने भएकोले एथलेटिक्स अन्तरगत फिल्ड र ट्रयाकका प्रशिक्षक, भलिवल, फुटवल, क्रिकेट र कवड्डी, लगायतका विद्याका प्रशिक्षक गरी प्रशिक्षण नियुक्त व्यवस्था गर्न आग्रह गर्नुभयो ।
सातौ दक्षिण एसियाली कराते प्रतियोगितामा ५५ केजी समुहबाट सहभागी भएका सिभिल इन्जिनियरिङ समूह कक्षा १२ का विद्यार्थी राहुल चौधरीले आफ्नो अनुभव व्यक्त गरेका थिए ।
मंसीर १६ देखि काठमाडौंमा सम्पन्न खेलमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र भुटानका खेलाडीहरुको सहभागिता रहेकोमा राहुल चौधरी भारतका खेलाडी संग पराजित भएका थिए ।
कार्यक्रममा बुटवल नगर खेलकुद विकास समितिका संयोजक बोनिन पियाले सातौ दक्षिण एसियाली कराते प्रतियोगितामा कास्य पदक प्राप्त गरेका राहुल चौधरी, खेल प्रशिक्षकहरु नवराज खरेल, कराते प्रशिक्षक भुपेन्द्र शिह थापा, डब्लु टीएफ प्रशिक्षक गणेश कुँवर, भलिवल प्रशिक्षक राजन खनाल, आइटीएफ प्रशिक्षक विश्व सुर्यबंशीलाई पनि सम्मान गरिएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)